महोत्तरी, ३ वैशाख : वैशाखे तरकारीका लहरा कक्रिँदै र सुक्दै गएपछि यहाँका तरकारी उत्पादक किसान गुजाराको चिन्ताले पिरोलिएका छन् । वैशाख लाग्नेबित्तिकै बढेको रापले उत्पादन दिनेबेलाका तरकारीका लहरा र बोट सुक्दै गएकाले किसानको चिन्ता बढेको हो ।
“खेतबारीमा भान्टा, परवल, घिराँैंला, झिगनी, रामतोरिया, करेला, फर्सी र लौकालगायत तरकारी फसल पानीको अभाबमा सुकिरहेका छन्” भङ्गाहा–४ का किसान बहुरा महतोले भन्नुभयो, “पानी पर्दैन, इनार धमाधम सुके, अब के गरौँरु” बारीमा लहलह बढ्नुपर्ने तरकारीका लहरा र बोट सुकेर कक्रिँदै गएपछि गुजारा कसरी गर्ने भन्नेमा चिन्ता बढेको उहाँले बताउनुभयो । परवल, घिरौँला, झिगनी, करेला, फर्सी र लौका यसै यामका मुख्य लहरे तरकारी बाली हुन् । खोर्सानी, भान्टा र रामतोरियाका बोट पनि फल्ने बेलामा घामको रापले कक्रिँदै गएका छन् ।
यसपाली हिउँदभर पानी नपरेकाले सिँचाइका लागि प्रयोग गरिने पानीका मुहान खोल्साखोल्सी, इनार र बोरिङ चाँडै सुकेका छन् । गत चैतमा छिटपुट पानी परेपनि त्यसयता बढेको गर्मीले माटो सुकेको कृषक महतोको भनाइ थियो ।
प्रत्येक साता सिँचाइ गर्नुपर्ने भए पनि पानीको अभावले बाली सुक्दै गएको छ । जिल्लाका बर्दिबास, भङ्गाहा, गौशाला, मटिहानी र बलवा नगरपालिकाका बस्ती तरकारी खेतीमा पकेट क्षेत्रका रूपमा मानिन्छन् । आफ्नै गाउँठाउँ भएर बग्ने रातु नदी सिँचाइका लागि प्रयोगमा ल्याउन सके बरदान सावित हुने भन्दै नदीले बर्सेनि उर्वर खेतबारी कटान गरेर थप समस्या निम्ताउने गरेको बर्दिबास–९ पशुपतिनगरका किसान महेन्द्रसिंह कुशवाहाले बताउनुभयो ।
स्थायी सिँचाइको अन्य कुनै व्यवस्था नभएको र अहिलेको लामो खडेरीले गाउँबस्तीका इनार धमाधम सुकेपछि पम्पसेट इनारबाट पानी तान्ने मोटरको काम पनि सकिएको सम्बद्ध किसानको किसानको गुनासो थियो । हिउँदे वर्षा नहुँदा यसपाली चाँडै पानीका मूहान सुकेपछि सिँचाइ मात्र नभइ खानेपानीको समेत सङ्कट बढ्ने सर्वसाधारणले बताए । नागरिकको समस्या सरकार र सम्बद्ध निकायले बुझिदिनुपर्ने उनीहरूको माग थियो ।
रासस






