भक्तपुर, १९ चैत : कवि एवं पूर्व शिक्षक रामशरण कार्की ‘जितपुरे’ को कविता सङ्ग्रह ‘आज सबैको खाँचो छ’ सार्वजनिक गरिएको छ । चाँगुनारायण तपादम्फोमा आज आयोजित कार्यक्रममा चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्रीले कार्कीको पहिलो कविता सङ्ग्रहको विमोचन गर्नुभएको हो ।
नगरप्रमखु खत्रीले कवि कार्कीका कविताहरु समाजको ऐनाको रुपमा आएको चर्चा गर्दै कविता सङ्ग्रहभित्र सामाजिक, शैक्षिक, वातावरणीय क्षेत्रमा मात्र नभएर राजनीतिक क्षेत्रका लागिसमेत सचेत गराउने रचना रहेको बताउनुभयो ।
उहाँले समाजका सबै वर्ग र क्षेत्रलाई पथ प्रदर्शनको विम्ब बोकेको कविता सङ्ग्रहमा साहित्यमार्फत समाज रुपान्तरण गर्न सकिन्छ, साहित्य समृद्धिको प्रतीक हो भन्ने यथार्थलाई पुष्टि गरेको बताउनुभयो ।
विसं २०१३ असार १३ गते सुडालको जितपुरमा जन्मिनु भई लामो समय शिक्षण पेशामा आबद्ध भएर पेशाबाट अवकाशपछि आफूले विभिन्न समयमा लेखेका कवितालाई एकत्रित गरी सङ्ग्रह प्रकाशन गरेको कविता कार्कीले बताउनुभयो ।
समाजमा रहेको विकृतिप्रति व्यङ्ग्य गरिएको कविता ‘आज सबैको खाँचो छ’ को वाचन गर्दै उहाँले आफूले विगत चार दशकदेखि लेखेका र विभिन्न पत्रपत्रिकामा प्रकाशन भएका कविताको सङ्गालो प्रकाशन गरेको बताउनुभयो ।
कार्यक्रममा चानपा–७ का वडाध्यक्ष श्याम श्रेष्ठ, महेन्द्रग्राम माविका प्रधानाध्यापक सोम श्रेष्ठ, चापन–८ का पूर्ववडाध्यक्ष पराशर सापकोटा, शिक्षक अम्बिका धिताल, सङ्ग्रहका सम्पादक हरिसुन्दर छुँकालगायतले कवि कार्कीका प्रकाशित उक्त कविता सङ्ग्रहमा प्रकृति प्रेम, राजनीतिप्रति व्यङ्ग्य, विकृति विसङ्गति माथि विम्व र प्रतीकमार्फत खबरदारी गरेको पाइएको बताउनुभयो ।
कविताका प्रकाशक दामोदार दङ्गालले साहित्यकारलाई उत्साहित गर्नका लागि सङ्ग्रह प्रकाशित गरेको बताउनुभयो । कूल ५६ कविता सङ्ग्रहित १०४ पृष्ठको उक्त कविता सङ्ग्रहको मूल्य रु दुई सय २५ राखिएको छ । रासस