पोपको स्वास्थ्यमा ‘सुधार’

  चैत १६, २०७९

भ्याटिकन सिटी, १६ चैत : पोप फ्रान्सिसले श्वासप्रश्वासको सङ्क्रमणका कारण एक रात अस्पतालमा बिताएपछि उहाँको स्वास्थ्यमा सुधार भइरहेको भ्याटिकनले बिहीबार जानकारी दिएको छ ।

“पोपले ‘रातको समयमा राम्ररी आराम गर्नुभएको छ । उहाँको क्लिनिकल अनुसन्धानले क्रमिक सुधार भइरहेको देखाएको छ । उहाँले आफ्नो पूर्ववतरूपमा दिइएको चिकित्सकको सुझाब अनुसार योजनाबद्ध रूपमा उपचार जारी राख्नुभएको छ,” प्रवक्ता माटेओ ब्रुनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “आज बिहान नास्ता पछि, उहाँले केही पत्रिकाहरू पढ्नुभयो र फेरि काम गर्न थाल्नुभयो । लन्च अघि, उहाँ निजी (अस्पताल) अपार्टमेन्टको सानो चैपलमा गई प्रार्थना गर्नुभयो र भोजन (प्रसाद) लिनुभयो ।

पोप फ्रान्सिसलाई पूर्वनियोजित जाँचका लागि बुधबार रोमको जेमेली अस्पतालमा भर्ना गरिएको भ्याटिकनले जनाएको छ ।

उहाँले श्वासप्रश्वासमा समस्या भएको बताएपछि भर्ना गरिएको र उहाँलाई श्वासप्रश्वासमा सङ्क्रमण भएको पत्ता लागेको छ । समस्या कोभिडसँग सम्बन्धित नरहेको भएपनि उहाँलाई ‘केही दिन’ अस्पतालमा उपचारको आवश्यकता छ ।

यसै महिनाको सुरुमा क्याथोलिक चर्चको प्रमुखको रूपमा १० वर्ष पूरा गरेका अर्जेन्टिनी धर्मगुरुले जीवनभर धेरै स्वास्थ्य समस्याहरू भाग्नुभएको छ । उहाँको २१ वर्षको उमेरमा फोक्सोको एउटा भागको उपचार गरिएको थियो ।

व्यस्त तालिका र व्यापक यात्रा गर्दै गर्दा, उहाँले विगत एक वर्षदेखि घुँडाको दुखाइको कारण ह्वीलचेयर प्रयोग गर्दै आउनुभएको छ । रासस-एएफपी

तपाईको प्रतिक्रिया