ताइवानी राष्ट्रपतिले अमेरिकी सभामुखलाई भेटेमा त्यसविरुद्ध लड्ने चीनको चेतावनी

  चैत १५, २०७९

ताइपेई, १५ चैत : ताइवानका राष्ट्रपति साई इङ वेनले संयुक्त राज्य अमेरिका भ्रमणका क्रममा त्यहाँको प्रतिनिधिसभाका सभामुखलाई भेटेमा चीनले त्यसविरुद्ध लड्ने चेतावनी दिएको छ ।

राष्ट्रपति साई आफ्ना सहयोगीहरूसँगको कूटनीतिक सम्बन्ध सुदृढ तुल्याउने उद्देश्यका साथ ग्वाटेमाला र बेलिजको भ्रमणका क्रममा आज अमेरिकातर्फ प्रस्थान गर्नुभएको छ । भ्रमणका क्रममा अमेरिकामा रहँदा उहाँले प्रतिनिधिसभाका सभामुख केभिन म्याकार्थीलाई भेट्ने बताउनुभएको थियो ।

चीनले स्वायत्त टापु ताइवानलाई आवश्यक परे बल प्रयोग गरेर मुख्यभूमिमा विलय गर्नसक्ने चेतावनी दिँदै आएको छ भने राष्ट्रको ‘एक चीन’ सिद्धान्तअनुसार कुनै पनि देशले चीन र ताइवान दुवैसँग आधिकारिक कूटनीतिक सम्बन्ध कायम गर्न नसक्ने बताउँदै आएको छ ।

राष्ट्रपति साई सभामुख म्याकार्थीबीचको कुनै पनि बैठक आफूलाई अमान्य हुने उल्लेख गर्दै बेइजिङले यदि उहाँले भेटवार्ता गरेमा त्यसविरुद्ध लड्न दृढ उपाय अवलम्बन गर्ने चेतावनी दिएको छ । राष्ट्रपति साईले अमेरिकी सभामुखलाई भेटेमा त्यो अर्को उक्साहट हुने तथा त्यसबाट एक चीन नीतिको गम्भीर उल्लङ्घन हुने ताइवान मामिला कार्यालयका प्रवक्ता झु फेङ्लियनले बताएका छन् । उनले चीनको सार्वभौमसत्ता र अखण्डतालाई कमजोर बनाउने कुनैपनि गतिविधि सह्य नहुने बताएका छन् ।

राष्ट्रपतिको साईको यो भ्रमण ताइवानसँगको ८० वर्ष पुरानो कूटनीतिक सम्बन्ध तोडेर होन्डुरसले बेइजिङसँग सम्बन्ध कायम गरेपछि हुँदैछ । होन्डुरस बाहिरिएपछि ताइवानलाई औपचारिक मान्यता दिएका देशको सङ्ख्या १३ देशमा झरेको छ ।

होन्डुरसका विदेशमन्त्री एडुआर्डो रेनाले देशको आर्थिक आवश्यकता तथा ताइवानले आर्थिक सहायता बढाउन अस्वीकार गरेपछि चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने निर्णयमा सरकार पुगेको बताउनुभएको थियो । ताइवानले वार्षिक रूपमा प्रदान गर्दै आएको पाँच करोड डलर अनुदानलाई एक वर्ष १० करोड गर्न तथा तिर्न बाँकी रहेको ६० करोड डलर सहुलियत ऋण पुनःसंरचनाका निम्ति गरेको आग्रहप्रति पनि सकारात्मक जवाफ नदिएको बताउनुभएको थियो ।

बाह्य दबाबले विश्वका विभिन्न मुलुकसँग सम्बन्ध कायम गर्ने ताइवानको सङ्कल्पमा कुनै बाधा नहुने राष्ट्रपति साईले अमेरिका प्रस्थान गर्नुअघि विमानस्थलमा पत्रकारहरूलाई बताउनुभयो । उहँले आफू शान्त रहने, कसैसँग नझुक्ने र कसैलाई नउक्साउने पनि बताउनुभयो ।

न्युयोर्कको भ्रमणपछि राष्ट्रपतिको साईले ग्वाटेमालाका राष्ट्रपति अलेजान्ड्रो गियामाटेइ र बेलीजका प्रधानमन्त्री जोन बिसेनोलाई उहाँहरूकै देशमा भेट्ने कार्यक्रम रहेको राष्ट्रपतिको साईको कार्यालयले जनाएको छ । स्वदेश फर्कनेक्रममा उहाँ लस एन्जलसमा केही समय बस्नुहुनेछ ।
रासस

तपाईको प्रतिक्रिया