ब्रसेल्स, चैत १२ : उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) गठबन्धनले बेलारूसमा रणनीतिक आणविक हतियार तैनाथ गर्ने रूसको घोषणालाई ‘खतरनाक र गैरजिम्मेवार’ भन्दै आइतबार यसको निन्दा गरेको छ ।
“रुसको आणविक बयानबाजी खतरनाक र गैरजिम्मेवार छ । नेटो सतर्क छ र हामी स्थितिलाई नजिकबाट नियालिरहेका छौं,” नेटोका प्रवक्ता ओना लुङ्गेस्कुले भन्नुभयो ।
उहाँले भन्नुभयो, “पश्चिमा मित्रराष्ट्रहरूले रूसको आणविक सोचमा कुनै परिवर्तन देखेका छैनन्, जसले हामीलाई आफ्नो शक्ति समायोजन गर्न प्रेरित गर्नेछ ।”
युक्रेनले छिमेकी बेलारूसमा सामरिक हतियार तैनाथ गर्ने मस्कोको योजनाबारे छलफल गर्न संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाउन माग गरेको छ ।
रूसले गत वर्ष युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेको थियो र उसका केही सैनिकले आफ्नो सहयोगी बेलारूसहुँदै सीमा पार गरेका थिए र किएभले यो कदमलाई ‘आणविक ब्ल्याकमेलिङ’ का रूपमा हेरेको छ ।
राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त राज्य अमेरिकाले आफ्नो आणविक शस्त्रागारको केही हिस्सा आफ्ना युरोपेली सहयोगीहरूको भूमिमा आधारित गरेको कदमको तुलना गर्दै यसको प्रतिवाद गर्नुभएको छ ।






