थारू हस्तकला सामग्रीको व्यावसायिक उत्पादन

  चैत ०७, २०७९

कञ्चनपुर, ७ चैत : परम्परागत सीपको प्रयोग गरी थारू समुदायले हस्तकलाका आकर्षक सामग्री बनाउँदै आएका छन् । दैनिक जीवनमा प्रयोग हुने हस्तकलाका सामग्रीलाई घरायसी प्रयोजनका लागि मात्रै सीमित राखिने गरिएको छ ।

पुस्तौँदेखि बनाइँदै आएका सामग्रीलाई परिमार्जन गरी बजारमा बिक्री गर्न सकिए सहजरूपमा थारू समुदायले आयआर्जन गर्न सक्ने थारू अगुवा शुक्लाफाँटा नगरपालिका–१० का हवल्दार चौधरीले बताउनुभयो ।

डेल्वा, ढक्या, पनछोपनी, छिटुवा, छतरी, पङ्खा, सुप्पा, मच्या, भौका, गोन्द्री, गाग्री, करुवा, डोरी, सिकहर, व्याना, मच्या, खटौलीलगायतका स्थानीय साधन स्रोतको प्रयोग गरी थोरै लागतमा निर्माण गरिने घरायसी काममा प्रयोग हुने सामग्रीको व्यावसायिक उत्पादन गरी थारू समुदायले गतिलो आम्दानी लिन सक्ने उहाँले बताउनुभयो ।

“सीप भएर पनि थारू समुदायले पुर्खाँदेखि पुस्तान्तरण हँुदै आएको सीपको प्रयोग गरी बनाइँदै आएका सामग्री घरभित्रै सीमित राखिएका छन्”, उहाँले भन्नुभयो, “केही सामग्री बूढापाकाको ढल्किँदो उमेरसँगै ओझेलमा पर्न थालेका छन्, युवा पिँढीको सिक्ने उत्सुकता नहुनु र बूढापाकाको सिकाउने चाहना नहँुदा पुराना हातैले निर्माण गरिने सामग्री लोप हुने अवस्थामा पुग्न थालेका छन् ।”

हाल घर सजावट गर्ने चलन चलेको छ । घर सजावटका सामग्री विदेशबाट आयात हुने गरेका छन् । घर सजावटका लागि थारू समुदायले धेरै पहिलेदेखि बनाउँदै आएका सामग्री विकल्प हुनसक्ने थारू अगुवाहरूको भनाइ छ ।

“हस्तकलाका सामग्री बनाउने सीप भए पनि थारू समुदायका अधिकांश व्यक्तिको आर्थिक अवस्था कमजोर हुँदा व्यावसायिक उत्पादन गर्न सक्ने अवस्थामा छैनन्”, थारू बुद्धिजिवी वीरबहादुर राजवंशीले भन्नुभयो, “थारू समुदायलाई घरायसी प्रयोगमा आउने गरेका वस्तु बजारमा बिक्री गरेर आम्दानी गर्न सकिन्छ भन्ने व्यासायिक सोचको विकास गर्न जरुरी छ, यसका लागि स्थानीय तहले उत्प्रेरित गर्नुपर्छ ।”

घरमा वर्षौँदेखि बनाइँदै आएका सामग्री बनाएर बजारमा बिक्री गरेर आम्दानी हुन्छ भन्ने कुराको ज्ञान नभएर पनि व्यावसायिकरूपमा थारू समुदाय अगाडि सर्न नसकेको उहाँले उल्लेख गर्नुभयो ।

परम्पारगत सीपलाई परिमार्जन गरी आधुनिक तरिकाका बुट्टा भर्ने, चित्र बनाउने, डिजाइन गर्नेलगायतका सीप सिकाएर थारू समुदायका महिला–पुरुष दुवै जनालाई व्यावसायिक बनाउन सकिने थारू अगुवा दानसिंह दहितले बताउनुभयो ।

घरायसी सामानसँगै थारू समुदायका महिलाले लगाउने गहना, पहिरनले विस्तारै बजार लिन थालेको छ । केही व्यक्तिले थारू समुदायका महिलाले लगाउने पहिरनको व्यावसायिक उत्पादन गरी बजारमा ल्याउन लागे पनि त्यो सङ्ख्या थोरैमात्रै रहेको दहितले बताउनुभयो । कारिगर नहुँदा परम्परागत गहना लोप हुने सङ्घारमा पुगेको उहाँ बताउनुहुन्छ ।

तपाईको प्रतिक्रिया