किमाथाङ्का,चैत २ : नेपाल पत्रकार महासङ्घ सङ्खुवासभा शाखालाई भवन निर्माणका लागि स्थानीयवासीले निःशुल्क जग्गा उपलब्ध गराएका छन् ।
खाँदबारी नगरपालिका–१ का व्यवसायी कृष्णभगत प्रधानले नेपाल पत्रकार महासङ्घ सङ्खुवासभा शाखालाई निःशुल्क जग्गा उपलब्ध गराउनुभएको छ । सदरमुकाम खाँदबारीको बसपार्कमा रहेको जग्गा व्यवसायी प्रधानले महासङ्घको नाममा रजिष्ट्रेशन पास गरिदिनुभएको छ ।
व्यवसायी प्रधानले रु ३० लाख मूल्य बराबरको जग्गा नेपाल पत्रकार महासङ्घ सङ्खुवासभा शाखालाई निःशुल्क प्रदान गर्नुभएको छ ।
आज मालपोत कार्यालय सङ्खुवासभामा गएर पत्रकार महासङ्घ जिल्ला शाखाको नाममा आफ्नो जग्गा रजिष्ट्रेशन पास गरी जग्गाधनी पुर्जासमेत प्रदान गर्नुभएको छ ।
स्व बाबु गोपालभगत प्रधानको स्मृतिमा उहाँले जग्गा उपलब्ध गराउनुभएको हो । महासङ्घको भवन निर्माणका लागि कोशी प्रदेश सरकारले रु ३० लाख बजेट विनियोजन गरेको छ । खाँदबारी नगरपालिकाले पनि भवन निर्माणका लागि रु सात लाख छुट्याएको छ ।
निःशुल्क प्राप्त भएको जग्गाले भवन निर्माण अभियानलाई ठूलो सघाउ पुगेको पत्रकार महासङ्घ सङ्खुवासभाका अध्यक्ष इन्द्र गिरीले बताउनुभयो ।
महासङ्घले यही महिनादेखि भवन निर्माणको काम सुरु गर्ने नेपाल पत्रकार महासङ्घ सङ्खुवासभा शाखाले जनाएको छ । महासङ्घ शाखा भाडाको घरमा बस्दै आएको थियो ।






