भोजपुर नगर क्षेत्रलाई बालश्रममुक्त घोषणा गर्न तयारी सुरु

  चैत ०२, २०७९

टक्सार (भोजपुर), चैत २ : बालश्रम रोक्न भोजपुर नगरपालिकाले नगर क्षेत्रलाई बालश्रममुक्त नगर घोषणा गर्ने भएको छ । नगरपालिकाले नगर क्षेत्रका १२ वटै वडामा गएर बालश्रमको अवस्थाका बारेमा तथ्याङ्कसमेत सङ्कलन गरिसकेको छ ।

भोजपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलले नगर क्षेत्रलाई बालश्रममुक्त घोषणा कार्यका लागि सबै वडामा तथ्याङ्क सङ्कलन कार्य गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “१२ वटै वडामा बालबालिकाको सङ्ख्या, शैक्षिक अवस्था, पारिवारिक अवस्था र बालश्रमको अवस्थाको तथ्याङ्क सङ्कलन भएको छ ।”

नगरपालिकाले सबै वडामा पाँच वर्षदेखि १७ वर्षसम्मका बालबालिकाको तथ्याङ्क सङ्कलन गरेको हो । नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, अन्तर्राष्ट्रिय श्रम सङ्गठन र वल्र्डभ्यू नेपालको संयुक्त आयोजनामा सदरमुकाममा सरोकारवालासँग अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन भइसकेको छ ।

सम्बन्धविच्छेद र गरिबीका कारण बालश्रम बढी हुने गरेको पाइएको छ । कानूनमा व्यवस्था भएअनुसार १४ वर्षमुनिका बालबालिकालाई कुनै पनि श्रम लगाउन नपाइने र १८ वर्षभन्दा मुनिका बालबालिकालाई जोखिमयुक्त श्रममा लगाउन पाइने छैन ।

भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले भन्नुभयो, “घरायसी समस्या, आर्थिक अवस्था कमजोर, पारिवारिक सम्बन्ध र नागरिक सचेतनाको अभावमा बालश्रम न्यूनीकरण हुन नसकेको हो, नगर क्षेत्रलाई बालश्रममुक्त गर्न नगरपालिका लागिपरेको छ ।”

बालश्रमसम्बन्धी नीति व्यावहारिकरूपमा कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै उहाँले बालश्रम रहर नभई बाध्यता भएको र यसलाई न्यूनीकरण गर्न सबै पक्ष लाग्नुपर्ने बताउनुभयो ।

नगर क्षेत्रलाई बालश्रममुक्त बनाउनका लागि नगर क्षेत्रभित्रका विद्यालयमा कार्यरत शिक्षकलाई समेत अभिमुखीकरण गर्न थालिएको छ । अभिमुखीकरणका क्रममा शिक्षकलाई बालश्रम, न्यूनीकरण र सूचकका विषयमा जानकारी गराइएको भोजपुर नगरपालिकाका शाखा अधिकृत सुरेन्द्र राईले जानकारी दिनुभयो । सो क्रममा अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) का भोजपुर प्रतिनिधि दावा लामाले समग्र बालश्रमको अवस्थाका बारेमा शिक्षकलाई सहजीकरण गर्नुभएको थियो ।

अहिलको चुनौती बालश्रम न्यूनीकरण पनि भएकाले यसलाई निरुत्साहित गर्न जरुरी रहेको भोजपुर–८ का वडाध्यक्ष नवीन प्रधानको भनाइ छ ।

तपाईको प्रतिक्रिया