काठमाडाैं, वैशाख २१ : विराटनगर, भैरहवा, जुम्लामा प्रयोगशालामा किट अभावका कारण कोभिड–१९ को पीसीआर जाँच रोकिएको छ । भाइरस जाँचका लागि आवश्यक पर्ने ‘आरएनए एक्स्ट्रयाक्सन’ किट सकिएपछि आइतबारदेखि पीसीआर टेष्ट रोकिएको हो । बाँकी ठाउँका प्रयोगशालामा पनि किट सकिन लागेकाे बताउँछन् ।
रुपन्देहीको भैरहवास्थित प्रदेशको जनस्वास्थ्य प्रयोगशालामा किट अभावका कारण कोभिड–१९ को पीसीआर जाँच रोकिएको छ । शनिबार मात्रै रुपन्देहीको कोटहीमाई–१ का कोरोना संक्रमित युवाको दाइ र साथीको परिवारका १० जनाको परीक्षणसँगै किट सकिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिए ।
‘हामीसँग भएको किट सकिएपछि पीसीआर जाँच बन्द भएको हो’ डा. गिरीले भने, ‘माथि जानकारी गराएर छिटो पठाउन भनेका छौं, किट आउन दुईतीन दिन लाग्छ होला ।’ चैत २३ गतेदेखि सञ्चालनमा आएको प्रयोगशालामा हालसम्म ३३४ जनाको कोरोना परीक्षण भएको छ । डा. गिरीकाअनुसार तत्कालका लागि पाँच सय किट माग गरिएको छ ।
प्रादेशिक प्रयोगशाला भैरहवा, भेरी अस्पताल नेपालगञ्ज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरी गरी प्रदेश ५ का तीनवटा प्रयोगशालामा दैनिक सरदर २० जनाको पीसीआर परीक्षण हुने गरेको प्रदेश जनस्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले बताए ।
तीन वटै प्रयोगशालामा आरडीटी किट पनि पर्याप्त छैन । ६५ हजार आरडीटी किट आवश्यक रहे पनि हालसम्म सात हजार मात्र आएको उनले जानकारी दिए । प्रदेश ५ मा भारतसहित विभिन्न मुलुकबाट दुई लाख भन्दाबढी नेपाली स्वदेश फर्किएका छन् । उनीहरु मध्ये साढे दुई प्रतिशतको मात्रै कोरोना परीक्षण गरिएको छ । हालसम्म प्रदेशमा पीसीआर र आरडीटी गरी ५ हजार जनामा परीक्षण गरिएको चौधरीले बताए ।
किट अभावकै कारण उनीहरुको परीक्षण चुनैतीपूर्ण बनेको प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले स्वीकार गरे । ‘हामीले प्रयास गरेकौं छौं, तर किट अभाव भएपछि केही लाग्दो रहेनछ’ मन्त्री बरालले भने ।
किट नहुँदा विराटनगरमा अटोमेटिक मेसिन बन्द
कोरोना परीक्षण गर्ने अटोमेटिक मेसिनमा प्रयोग हुने रिएजेन्ट (आरएनए एक्ट्रयाक्सन किट) माग गर्दै कोशी अस्पतालले दुई पटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखिसक्यो । तर मन्त्रालयले किट नपठाउँदा कोशी अस्पतालको कोरोना परीक्षण ल्याबको अटोमेटिक मेसिन एक सातायता बन्द छ ।
मन्त्रालयले रिएजेन्ट किट नपठाएका कारण सामान्य रुपमा कोरोना परीक्षण गर्नुपर्ने बाध्यता रहेको अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्राले बताइन् । ‘मेसिनबाट एकै पटक ७२ वटा स्वाब परीक्षण गर्न सकिन्छ’ उनले भनिन् ‘मन्त्रालयले रिएजेन्ट किट नपठाउँदा समस्या छ ।’
शनिबार प्रदेश सरकारले कोरोना परीक्षणका लागि छुट्टै ल्याब थप गरेको छ । तर कोशी अस्पतालको ल्याब पूर्ण क्षमतामा सञ्चालन भएको छैन । सामान्य रुपमा परीक्षण गर्दा काम थोरै हुने र रिपोर्ट पनि ढिलो आउने मेसु मिश्राले बताइन् ।
प्रदेश १ मा मात्र ३१ जना कोरोना संक्रमित छन् । संक्रमण देखिएको स्थानमा परीक्षणको दायरा बढाउनुपर्ने भए पनि रिएजेन्ट अभावमा संकलन भएका स्वाबको परीक्षण पनि ढिलो भएको मिश्राले बताइन् । ‘किट नहुँदा मेसिन चल्ने कुरा भएन । म्यानुअल गर्दा थोरै मात्र परीक्षण गर्न सकिन्छ’ उनले भनिन् ‘मन्त्रालयमा दुई पटक पत्र लेखेर पठाएका छौं, आउँछ होला ।’ कोशी अस्पतालले हालसम्म ६४१ जनाको स्वाब परीक्षण गरेको छ ।
किट अभावले जुम्लामा सुरु भएन परीक्षण
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा जडान गरिएको पीसीआर मेसिन सञ्चालनमा आउन सकेको छैन । पीसीआर मेसिन जडान गरिए पनि किट अभावले सञ्चालन आउन नसकेको प्रतिष्ठानका हाडजोर्नी विशेषज्ञ एवं अस्पताल निर्देशक डा. मङ्गल रावलले जानकारी दिए । उनका अनुसार गएको मङ्गलबार प्रतिष्ठानले कोरोना भाइरसको परीक्षणका लागि पीसीआर मेसिन जडान गरेको थियो ।
मेसिन सञ्चालनका लागि जनशक्ति सबै तयार रहेको भन्दै उनले किट आउनेबित्तिकै परीक्षण शुरु गर्ने बताए । यहाँको पीसीआर मेसिन ठूलो क्षमताको भएकोले यसले एकपटकमा ९६ जनाको स्वाब परीक्षण गर्न सक्नेछ ।
प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले प्रतिष्ठानका पूर्वउपकूलपति डा. पारसकुमार आचार्यको सहयोगमा सुर्खेतमा २०० किट आइपुगेको र त्यो लिनका लागि आजै प्रतिष्ठानको जनशक्ति सुर्खेत हिँडेको बताए ।
रजिष्ट्रार काफ्लेले प्रतिष्ठानले २७ लाख रुपैयाँमा पीसीआर मेसिन खरिद गरेको बताए । उनका अनुसार मेसिन सञ्चालन नहुँदा अहिले जुम्लामा कोरोना शङ्कास्पद व्यक्तिहरूको शुरुमा आरडीटी परीक्षण गर्ने र थप शङ्कास्पद भएमा पीसीआर जाँचका लागि सुर्खेत पठाउने गरिएको छ । किट आउनेबित्तिकै परीक्षण कार्य तीव्र बनाउने प्रतिष्ठानले जनाएको छ ।
रुकुम (पूर्व) मा किट अभाव हुँदा कोरोना परीक्षणमा समस्या
रुकुम (पूर्व) मा कोभिड– १९ को परीक्षणका लागि र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) किटको अभाव भएको छ । किट पर्याप्त नहुँदा कोरोना परीक्षण दुई सातादेखि रोकिएको छ । किट अभावकै कारण जिल्लामा शंकास्पद कोरोना संक्रमितको परीक्षण गर्न समस्या भएको छ ।
हालसम्म भारतलगायत अन्य मुलुकबाट १६२ नागरिक भित्रिएका छन् । देशका विभिन्न जिल्लाबाट भने एक हजारभन्दा बढी नागरिक भित्रिएका छन् । भित्रिने मानिसको संख्या धेरै भएपछि परीक्षण किट नहुँदा समस्या भएको हो ।
हालसम्म प्रदेश सरकारले कोरोना परीक्षणका लागि १६० मात्रै किट पठाएको छ । ती किटले विदेशबाट आएका १२९ जनाको आरडीटी गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवप्रसाद शर्माले बताए ।
यहाँका तीनै गाउँपालिकामा कोरोना परीक्षण गरिएको थियो । सिस्ने गाउँपालिकाका १०३, भूमे गाउँपालिकाका १८ र पुथाउत्तरगंगा गाउँपालिकाका आठ जनाको कोरोना परीक्षण गरिएको हो । त्यसमध्ये चार कैदी हुन् । बाँकीको किट अभावकै कारण कोरोना जाँच हुन सकेको छैन । हाल जिल्लामा २९ किट बाँकी छन् । ती किटले तत्काल कोही सम्भावित संक्रमित भेटिएमा परीक्षण गर्ने बताइएको छ । किट उपलब्ध गराइदिन प्रदेश सरकारसँग माग गरिएको प्रमुख शर्माले बताए ।
कपिलवस्तुमा आरडीटी परीक्षण किट अभाव
कोरोना भाइरस रोगको संक्रमण परीक्षण गर्न जिल्लामा र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किट अभाव भएको छ । क्वारेन्टाइनमा बसेकाहरूको परीक्षणलाई कसरी व्यवस्थापन गर्ने भनेर स्वास्थ्यकर्मीलाई समस्या भइरहेको छ ।
१४ दिन क्वारेन्टाइनमा बसेकालाई अनिवार्य परीक्षण गर्नुपर्छ । अहिलेसम्म जिल्लामा प्रदेश स्वास्थ्य निर्देशनालयबाट चारपटक गरेर १ हजार १ सय २० थान किट मात्र आएको थियो ।
‘१० वटै स्थानीय तहलाई आवश्यकता सोधेर वितरण गरियो,’ जिल्ला स्वास्थ्य कार्यालय प्रमुख योगेन्द्र भगतले भने, ‘अहिले हामीसँग एउटा पनि किट बाँकी छैन । १० दिनअघि नै सकिएको हो ।’ किट अभावबारे निर्देशनालयमा जानकारी गराएको भए पनि कहिले पठाउने भन्ने टुंगो नभएको उनले बताए ।
मन्त्रालयमा पनि थोरै छ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल अटोमेटिक मेसिनमा प्रयोग हुने किट मन्त्रालयमा पनि थोरै मात्र रहेको बताउँछन् । मन्त्रालयमा भएका सामग्रीलाई आवश्यकता अनुसार वितरण गरिने उनले बताए ।