नगरकोटमा हाइयर कमाण्ड तालिम

  चैत ०१, २०७९

काठमाडौँ, १ चैत : नगरकोटस्थित नेपाली सैनिक वार कलेज हाइयर कमाण्ड तथा म्यानेजमेन्ट सुरु भएको छ ।

बलाधिकृत रथी सरोज प्रताप राणाले शुभारम्भ गर्नुभएको उक्त तालिममा एक महिलासहित ३३ जना महासेनानीको सहभागिता छ । सेनाले सैनिक अधिकृतका लागि सञ्चालन गर्दै आएको यो सबैभन्दा उच्चस्तरको तालिम भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सेनामा माथिल्लो तहमा बढुवा हुन यस्ता तालिम अनिवार्य मानिन्छ ।

सो अवसरमा बलाधिकृत रथी राणाले यस्ता तालिमले जटिल परिस्थितिमा उचित एवं प्रभावकारी निर्णय लिन सक्ने क्षमताको विकास गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “रणनीतिक तथा अपरेशनल तहका नेतृत्वकर्ता, योजनाकार, सल्लाहकार र भविष्यमुखी नेतृत्व उत्पादनमा यस तालिमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।”

विसं २०७१ देखि सञ्चालन हुँदै आएको यो तालिम हालसम्म नौ महिलासहित दुई सय ७२ जना अधिकृतले पूरा गरिसकेको निर्देशनालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया