घरबहाल विवरण बुझाउनेको सङ्ख्या न्यून

  चैत ०१, २०७९

काठमाडौँ, १ चैत : यदि तपाईंले घर, कुनै भवन, जग्गा वा पसल भाडामा लगाउनुभएको छ भने त्यसवापत तपाईंले स्थानीय तहलाई निश्चित कर बुझाउनुपर्छ ।

घरबहालमा बस्नेबाट हुने आम्दानीको निश्चित रकम करका रूपमा स्थानीय तहलाई बुझाउनुपर्छ । यसैलाई व्यवस्थित गर्न र घरबहाललाई कानूनी दायरामा ल्याउनका लागि काठमाडौँ महानगरपालिकाको प्रयास प्रभावकारी हुन सकेको छैन ।

काठमाडौँ महानगरपालिकाले गत फागुन २ मा निर्देशिका नै जारी गरी घरबहालमा दिनेलाई करको दायरामा ल्याउन गरेको प्रयास प्रभावकारी नदेखिएको हो । महानगरका अनुसार अहिले तीनरचार दिनमा एकरदुई जना मात्रै विवरण बुझाउन आउने गरेका छन् । महानगरले गत फागुन ३ मा ‘घरबहाल व्यवस्था निर्देशिका २०७९’ जारी गरेको थियो ।

महानगरका राजस्व विभाग प्रमुख ध्रुव काफ्लेका अनुसार हाल महानगरभित्र चार लाखभन्दा बढी घर भाडामा लगाइएका छन् । यी सबैलाई करको दायरामा ल्याउने महानगरको योजना छ । “गत आर्थिक वर्षमा ३९ हजार करको दायरामा आउनुभएको थियो”, काफ्लेले भन्नुभयो, “चालु आवको फागुनसम्म जम्मा नौ हजार दुई सयले मात्रै विवरण बुझाउनुभएको छ ।”

महानगरभित्रका सबैलाई करको दायरामा ल्याउने योजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने उद्देश्यले निर्देशिकासँगै एक महिनाअघि ९० दिनको सार्वजनिक सूचनासमेत जारी भइसकेको छ । महानगरपालिकाले बहाल कर वापत चालु आवमा रू दुई अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ । जसमध्ये हालसम्म रू एक अर्ब ४८ करोड १३ लाख असुल भइसकेको राजस्व विभाग प्रमुख काफ्ले जानकारी दिनुभयो ।

“घरबहाल विवरण बुझाउनेको सङ्ख्या अहिले कम छ तर जेठ र असारमा कर तिर्न आउँदा यो सङ्ख्या बढ्ने अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया