२६ फागुन, झापा । झापामा पहिलोपल्ट शिवसताक्षी नगरपालिकाले प्लास्टिकजन्य फोहर जलाएर नष्ट गर्न अत्याधुनिक इन्सिनेरेटर उपकरण सञ्चालनमा ल्याएको छ । नगरको वडा नंं ७ मा दुई बिघा १८ कट्ठा जग्गामा निर्माण गरिएको फोहर व्यवस्थापन केन्द्रमा जडान गरिएको इन्सिनेरेटरको सफल परीक्षण भइसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले बताउनुभयो ।
प्रतिघन्टा ३०० केजी फोहर जलाएर नष्ट गर्नसक्ने क्षमताको सो उपकरण दुई वर्षअघि नै खरिद गरेर नगरपालिका कार्यालय परिसरमा राखिएको थियो । सो उपकरणले फलामबाहेक प्लास्टिकजन्य फोहरलाई सुरक्षितरुपमा च्याम्बरभित्र जलाएर क्षणभरमै खरानीमा परिणत गरिदिन्छ ।
इन्सिनेरेटर खरिदमा रु एक करोड र व्यवस्थापन केन्द्र निर्माणमा रु दुई करोड खर्च भइसकेको जनाउँदै यस परियोजनाका लागि सम्पूर्ण संरचना निर्माण गर्न रु १२ करोड लगानी हुने नगरप्रमुख मेगाहाङ थोप्राले जानकारी दिनुभयो ।
फोहर छुट्याउने चेम्बर, गाडी पार्किङलगायतस्थाल निर्माण गरेर एक महिनापछि फोहर व्यवस्थापन केन्द्रलाई नियमित सञ्चालनमा ल्याइने उहाँले बताउनुभयो । फोहर व्यवस्थापन केन्द्रभित्र आकर्षक बगैँचा बनाउने नगरको योजना छ ।
झापामा १५ पालिकामध्ये इन्सिेनेरेटर भित्र्याउने शिवसताक्षी पहिलो पालिका हो । फोहर प्रशोधन केन्द्र सञ्चालनपछि नगरको फोहर व्यवस्थानमा सहज हुने उहाँको भनाइ थियो ।
फोहर प्रशोधन केन्द्रको व्यवस्थापनमा लाग्ने इन्धन, कर्मचारी र गाडीको व्यवस्थापनका लागि स्रोत जुटाउन नगरपालिकाले फोहर उत्पादन हुने प्रकृति हेरी नगरवासीसँग न्यूनतम् शुल्क असुल गर्ने जनाएको छ ।
घर, पसल र बजारबाट सङ्कलन गरिएको फोहरलाई प्रशोधन केन्द्रसम्म ल्याउन खर्च लाग्ने हुँदा न्यूनतम शुल्क लिने निर्णय गरिएको नगरप्रमुख थोप्राले बताउनुभयो । इन्सिनेरेटर सञ्चालन गर्न विद्युत् र डिजेल इन्धन आवश्यक पर्छ । प्रतिकेजी फोहर जलाउन औसत रु १२ सम्म लागत पर्ने हुँदा यसको प्रयोग महँगो हुने देखिएको छ ।






