नयाँ राष्ट्रपति चयनका लागि भोलि मतदान हुँदै, नतिजा ४ घण्टाभित्र आउने

  फागुन २४, २०७९

काठमाडौं । नयाँ राष्ट्रपति चयनका लागि भोलि बिहीबार मतदान हुँदैछ । मतदान काठमाडौंको नयाँवानेश्वरस्थित संसद् भवनको ल्होत्सेहल परिसरमा हुनेछ । मतदानका लागि दुईवटा केन्द्र तोकिएको छ ।

एउटा मतदान केन्द्रमा संघीय सांसद र अर्कोमा प्रदेश सांसदले मत खसाल्ने छन् । राष्ट्रपति निर्वाचनमा प्रदेशका ५५० र संघीय संसद्का ३३२ गरी कुल ८८२ जना मतदाता रहेका छन् ।

मतदाताको अन्तिम नामावलीमा नाम रहेको जनता समाजवादी पार्टीकी सांसद सहनाज रहमानको हृदयघातका कारण मृत्यु भएको छ । राष्ट्रपति निर्वाचनमा प्रदेश सांसदको ४८ र संघीय सांसदको ७९ मतभार गणना हुन्छ ।

राष्ट्रपतिको निर्वाचनअन्तर्गत भोलि बिहान १० बजेदेखि तीन बजेसम्म मतदानको समय तोकिएको छ ।

भोलि बेलुका सात बजेसम्म निर्वाचनको नतिजा सार्वजनिक गर्ने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो । “तीन बजेसम्म मतदानको समय तोकिएको छ । मतदान सकिएलगत्तै सर्वपक्षीय बैठक बसेर मतगणना सुरु हुन्छ,” उनले भने, “सात बजेभित्र नतिजा आइसक्छ ।”

राष्ट्रपति निर्वाचनमा दुई उमेदवारबीच प्रतिस्पर्धा हुँदैछ । आठदलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा ९एमाले०का उपाध्यक्ष सुवास नेम्वाङ उमेदवार रहनुभएको छ । आयोगले प्रदेश सांसद र संघीय सांसदका लागि छुट्टा छुट्टै मतपत्रको व्यवस्था गरेको छ । मतपत्रमा उमेदवारको नाम र फोटो राखिएको छ ।

तपाईको प्रतिक्रिया