प्रायः विकास निर्माणका काममा महिलालाई कम प्राथमिकतामा राखिन्छ । ज्यालामा विभेद र अवसरमा कम सहभागितासँगै विकास निर्माणका काममा पनि समस्या छन् । तर, महिलाले नै नेतृत्व गरेका योजनामा भने महिला सहभागिता उल्लेख्य भएको पाइएको छ । बागलुङको जैमिनी नगरपालिका–१० राङखानी न्वाराघाटदेखि सिर्जनाटोल जोड्ने पदमार्ग निर्माणमा महिलाको उत्साहपूर्ण सहभागिता छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रु तीन लाख ९२ हजार नौ सय ६६ को लागतमा आकर्षक पदमार्ग तयार गरिएको हो ।
राङखानीको पर्यटकीय क्षेत्र हात्तीढुङ्गा जोड्ने लक्ष्यका साथ निर्माण गरिएको पदमार्गले स्थानीयवासीलाई पैदल यात्रामा सहजता थपेको छ । विशेषगरी बर्षात्का समयमा साँघुरो गोरेटोमा यात्रा गर्दा चिप्लने डर थियो । साना बालबच्चालाई हिँड्न निकै कठिन रहेको गोरेटोलाई सुधार गरी चाक्लो, सिँढी र सोलिङ गरी पैदलमार्ग तयार गरेको न्वाराघाट सिर्जना टोल पदमार्ग उपभोक्ता समितिका अध्यक्ष खिमकुमारी थापाले जानकारी दिनुभयो ।
उक्त पदमार्ग निर्माणपछि हात्तीढुङ्गासँगै मन्दिर जाने धार्मिक पर्यटकलाई पनि सहयोग पुगेको छ । उक्त पदमार्ग निर्माणको लागि उपभोक्ता समिति गठन गर्न भेला बोलाउने, बैठक सञ्चालन तथा बैठकमा निर्णय लेख्नेदेखि उपभोक्ता समितिको नेतृत्व र विकास निर्माणमा कामदारको रुपमा स्थानीय महिलाको सहभागिता थियो । उपभोक्ता समितिमा सबै महिला सदस्य मात्रै छन् । पदमार्ग निर्माण गर्दा पनि कामदार महिलानै थिए ।
विशेष गरी सोलिङ र सिँढी निर्माण गर्न स्थानीय दुई÷तीन जना सिपालु पुरुषले सहयोग गरेपनि पैदलमार्ग चाक्लो बनाउने, खोलामा ढुङ्गा फोड्ने, छपनी निकाल्ने, ढङ्गा बोक्ने तथा सिँढी र सोलिङ गर्न पनि महिलानै अघि बढेको अध्यक्ष थापाको भनाइ छ । “हामीले ढुङ्गा फोड्न घन पनि हान्यौँ, छिनो पनि समात्यौँ” अध्यक्ष थापाले भन्नुभयो–“महिलाले अवसर पाए विकास निर्माणको काम पनि गर्न सक्छौँ ।” यो वर्ष सिपालु पुरुष कामदारसँग सिँढी चिन्ने काम सिकेको हुँदा आगमी वर्ष अझै सहज हुने उहाँको भनाइ छ ।






