बागलुङमा चालु आर्थिक वर्षमा ८० वटा सामुदायिक भवन निर्माण हुने भएका छन् । चालु आवमा सम्पन्न गर्नेगरी सामाजिक सङ्घसंस्था, मठमन्दिर तथा विद्यालय भवन निर्माण थालिएको हो ।
जिल्लाका दशवटै पालिकामा पूर्वाधार विकास कार्यक्रमअन्तर्गत सामाजिक विकास कार्यालयको समन्वयमा ती भवन निर्माण थालिएको कार्यालय प्रमुख डम्मरबहादुर जिसीले जानकारी दिनुभयो । उहाँका अनुसार रू छ करोड ७० लाखको लागतमा भवन निर्माण थालिएको छ । हालसम्म विनियोजितमध्ये ६० भवनको योजना सम्झौता भइसकेको जिसीले बताउनुभयो । फागुन मसान्तसम्म बाँकी योजना सम्झौताका लागि समय उपलब्ध गराइएको छ ।
सानो बजेटबाट समुदायको बाक्लो उपस्थिति हुने ठाउँमा योजना छनोट गरिएको उहाँले बताउनुभयो । जिसीले भन्नुभयो, “अघिल्लो वर्षको तुलनामा यस वर्ष मठमन्दिर बनाउने योजना धेरै छन् । साथै अन्य सामुदायिक भवन र विद्यालय भवनका योजना पनि छन् ।”
प्रदेशमा समाजिक विकास मन्त्रालयले विनियोजन गरेका योजना पालिकाले कार्यान्वयन गर्ने बताउँदै नागरिकको माग र जनप्रतिनिधिले छनोट गरेअनुसार बजेट विनियोजन हुने गरेको उहाँले बताउनुभयो ।
बागलुङ नगरपालिकाको बानपामा सबैभन्दा धेरै २१ भवन बनाइँदै छ । रू दुई करोड १० लाख लागतमा मानवअधिकार, एकल महिला समूह, आमासमूह, सामुदायिक प्रहरीको भवन बन्दैछ । साथै मन्दिर मर्मत र पुनःनिर्माणका योजना पनि छन् । त्यस्तै बरेङ र तमानखोला गाउँपालिकामा सबैभन्दा कम तीन÷तीन भवनको योजना छ । यसका लागि रू २० लाखका दरले रकम विनियोजन गरिएको छ । तमानखोलामा दुई सामुदायिक भवन र एक मन्दिर निर्माण हुँदैछ भने बरेङमा मन्दिर तथा विद्यालयको पर्खाल निर्माण गरिनेछ ।






