लुम्बिनी, फागुन २१ : संविधान प्रदत्त अधिकार प्राप्तिका लागि महिला एकजुट हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।
एक सय १३औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा बुटवल उपमहानगरपालिकाले आज आयोजना गरेको अन्तरक्रियामा राष्ट्रियसभा सदस्य कमला पन्तले महिलाको आर्थिक र सामाजिक सशक्तिकरणका निम्ति तीनै सरकारबाट प्रभावकारी काम हुनुपर्ने बताउनुभयो । उहाँले महिलालाई आर्थिक क्षेत्रमा अगाडि बढाउँदै सक्षम बनाउनुपर्ने बताउनुभयो ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले महिलालाई मूलधारमा ल्याउँदै उत्पादनमूलक क्षेत्रमा संलग्न गराउनुपर्ने बताउनुभयो । उहाँले समानताका लागि समान सोच र व्यवहार जरुरी रहेको बताउँदै महिलालाई नवप्रवर्तन र प्रविधिसँग जोड्नुपर्ने बताउनुभयो ।
उपप्रमुख सावित्रादेवी अर्यालले समान अवसर र समान अस्तित्वका लागि महिलालाई उत्पादनमूलक र क्षमता विकासका काममा केन्द्रित हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा पर्पल फाउन्डेसनकी निर्देशक तथा नेत्री सिर्जना काफ्लेले महिलाले अधिकार प्राप्तिका लागि आफैँ अगाडि बढ्नुपर्ने र नेपालको संविधानले व्यवस्था गरेको र अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले संविधानले दिएका अधिकार कार्यान्वयन र पेसागत सुरक्षाका हिसाबले बुटवल अग्रस्थानमा रहेको बताउनुभयो ।
‘डिजिटलः लैङ्गिक समानताका लागि नवप्रवर्तन र प्रविधि’ भन्ने अन्तर्राष्ट्रिय नारासहित यही मार्च ८ मा अन्तर्राष्ट्रिय महिला दिवस साझा अभियानका रूपमा मनाइने बुटवल उपमहानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख तुल्सा अर्यालले जानकारी दिनुभयो ।






