रिट दर्ताबारे माओवादी केन्द्रको असहमति

  फागुन २१, २०७९

नेकपा माओवादी केन्द्रले दश वर्षे जनयुद्धका क्रममा भएका घटनाबारे सत्यनिरूपण तथा बेपत्ता छानबिन आयोगले काम गरिरहेको उल्लेख गर्दै आयोगको क्षेत्राधिकारभित्रका विषयलाई असर पर्ने गरी कुनै पनि निर्णय नगर्न आग्रह गरेको छ ।

माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले आज प्रेस विज्ञप्तिमार्फत प्रतिगामी तत्व सलबलाइरहेका अवस्थामा अग्रगामी परिवर्तनका पक्षधर राजनीतिक शक्ति तथा पार्टी एकजुट हुनुपर्ने उल्लेख गर्नुभएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही वर्ष पहिले दिनुभएको अभिव्यक्तिलाई लिएर सर्वोच्च अदालतले रिट दर्ता गर्न दिएको आदेशप्रति पनि सो विज्ञप्तिमा आपत्ति जनाइएको छ ।

सो विज्ञप्तिमा भनिएको छ, “ज्ञानेन्द्रराज आरणले नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष दाहाल उपर दायर गरेको रिट निवेदन सर्वोच्चका रजिष्ट्रारले दर्ता गर्न नमिल्ने भनेकामा त्यसलाई बदर गरी रिट दर्ता गर्नु भनी यही फागुन १९ गते आएको अर्को आदेशप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।”

संविधानसभाबाट जारी भएको नेपालको संविधान र सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक प्रतिनिधित्व र लोकतान्त्रिक गणतन्त्रका आधारभूत संरचनासहितका उपलब्धिविरूद्ध हुने कुनै पनि गतिविधिलाई माओवादी केन्द्रले अस्वीकार गरेको पनि सो विज्ञप्तिमा उल्लेख छ ।

 

तपाईको प्रतिक्रिया