भैरहवा,फागुन २० : देशका विभिन्न निकायमा कार्यरत तथा सेवा निवृत्त भइसकेकासमेत मत्स्य अधिकृत भैरहवामा जम्मा भएका छन् ।
मत्स्य प्राविधिकलाई एकजुट बनाइ उनीहरूका हकहितमा काम गर्ने उद्देश्यसहित मत्स्य प्राविधिकको भेला शनिबार भैरहवामा सम्पन्न भएको छ ।
भेलाले नेपाल मत्स्य प्राविधिक एशोसिएशन गठन गरी रमेश जैसवालको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा सुभाषकुमार झा, महासचिव शोभाखर पाण्डे, सचिव सुरेश खडका, कोषाध्यक्ष तुल्सी जिरेललाई मनोनित गरेको छ ।
यस्तै सदस्यमा सुन्दरी कार्की, गोमा कँवर, सुनिता चन्द, लाक्पा रिदर भोटे सैचा, प्रेमबहादुर शाही, गणेशबहादुर थापा, महेशदत्त भट्ट र वीरेन्द्र यादव रहनुभएको छ ।
नेपालको प्राकृतिक जलाशयमा मत्स्य उत्पादन तथा कृत्रिम जलाशयमा मत्स्यपालन एवं सोसम्बन्धी सरकारी तथा गैर सरकारी मत्स्य प्राविधिक, अनुसन्धानकर्ता पेसामा संलग्न प्राविधिकलाई सङ्गठित गर्ने उद्देश्यसहित भेला आयोजना गरिएको भेला मूल आयोजक समितिका संयोजक रमेश जयसवालले बताउनुभयो ।
नेपालको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको कृषिको प्रमुख सहयोगी क्षेत्रको रुपमा रहेको मत्स्य क्षेत्रलाई प्रभावकारी तथा थप उत्पादनशील बनाउन यो एशोसिएशन लाग्ने उहाँले बताउनुभयो ।
यसले मत्स्य प्राविधिकको मर्यादा, वृत्तिविकास र सुनिश्चित भविष्य एवं पेसागत हकहित र उत्थानको पनि काम गर्ने जैसवालको भनाइ छ ।
मत्स्य प्राविधिक अहिलेसम्म सङ्गठित नभएको अवस्थामा धेरै समस्या आइरहेको उहाँले बताउँदै यस्ता समाधानको प्रयास एशोसिएशनको पहिलो ध्येय रहने बताउन्ुभयो ।






