पक्की पदमार्ग निर्माण

  फागुन २०, २०७९

गलकोट, फागुन २० : बागलुङ नगरपालिकाले सशस्त्र द्वन्द्वको क्रममा सहादत प्राप्त गर्नुभएका बागलुङ नगरपालिका–८ सिगानाका शहीद टङ्क खड्काका नाममा पदमार्ग निर्माण गरेको छ ।

नगरपालिकाले वडा नं ८ सिगाना बेँसीदेखि वडा कार्यालय पुग्ने गरी पक्की पदमार्ग निर्माण गरेकोे हो । द्वन्द्वका क्रममा ज्यान गुमाउनुभएका खड्काको सम्झनामा पक्की पदमार्ग निर्माण गरिएको हो ।

पालिकाले चालु आर्थिक वर्षमा उक्त सडक निर्माणका लागि पदमार्ग योजनाअन्तर्गत रू १० लाख विनियोजन गरेको शहीद टङ्क खड्का पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष राजन जिसीले जानकारी दिनुभयो ।

“अहिले पदमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ, झन्डै तीन सय ५० मिटर लामो मार्ग बनेको छ, अर्को वर्षसम्म वडा कार्यालयसम्म ढलान पु¥याउने तथा शहीदको नाममा प्रवेशद्वारसमेत निर्माण गर्ने योजना छ”, उहाँले भन्नुभयो । समितिका अध्यक्ष जिसीका अनुसार शहीद टङ्क खड्काको घर अघिको बाटोलाई स्तरोन्नति गरिएको हो ।

पालिकाले बजेट विनियोजन गरेर पदमार्ग निर्माण गरी शहीदलाई स्मरण तथा सम्मान गरेको उहाँको भनाइ छ । पदमार्गमा आवश्यकता अनुसार रेलिङसमेत हालिने छ ।

निर्वाचनका क्रममा मत माग्दै जाँदा शहीद परिवारले शहीदको स्मरण योग्य काम नभएको र शहीदको नाम बिर्सिएको गुनासो गरेपछि सिगानाका शहीद खड्काको नाममा उहाँकै घर अघिको बाटोलाई स्तरोन्नति गरी पक्की पदमार्ग निर्माण गरिएको नगरपालिकाका उपप्रमुख राजु खड्काले बताउनुभयो ।

उहाँका अनुसार शहीदका परिवारले शहीदका नाममा स्मरणयोग्य काम नभएको गुनासो गरेपछि रकम विनियोजन गरेर पदमार्ग निर्माण गरिएको हो । “पदमार्ग निर्माणपछि शहीदको सम्झना पनि हुने र पर्यटक तथा पदयात्रीलाई सहज हुन्छ”, उपप्रमुख खड्काले भन्नुभयो ।

खड्काले २०५९ सालमा सशस्त्र द्वन्द्वका क्रममा सहादत प्राप्त गर्नुभएको थियो । ढिलै भए पनि छोराको स्मृतिमा पालिकाले सम्झनालायक काम थालेको उल्लेख गर्दै शहीद टङ्क खड्काका बुबा जितबहादुरले खुसी व्यक्त गर्नुभयो ।

“शहीदका सपना कुल्चिन थालिएको अवस्थामा पालिकाले शहीदको नाममा पदमार्ग बनाउने निर्णयअनुसार काम भएको छ, यसलाई पूर्णता दिन आगमी वर्षसमेत बजेट विनियोजन हुनेछ”, खड्काले भन्नुभयो ।

विद्युतीय भ¥याङसहितको प्रशासनीक भवन सम्पन्न

बागलुङको बडिगाड गाउँपालिकाको अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन निर्माण सम्पन्न भएको छ । उक्त भवन निर्माण सम्पन्नपश्चात् हस्तान्तरणको तयारीमा पुगेको छ ।

स्थानीय तह स्थापनाको छ वर्षमा बडिगाड गाउँपालिकाले आफ्नै भवन निर्माण गर्न सफल भएको हो ।

पालिकाको केन्द्रमा पर्ने खार बजारमा प्रशासनिक भवन निर्माण गरेको हो । यो जिल्लाकै दोस्रो अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन हो । एक वर्षअघि ताराखोला गाउँपालिकाले सुविधासम्पन्न प्रशासनिक भवन निर्माण गरेको थियो ।

दश स्थानीय तह रहेको बागलुङमा बडिगाड र ताराखोला गाउँपालिकाले मात्रै हालसम्म प्रशासनिक भवन निर्माण गरेका छन् ।

गलकोट र जैमिनी नगरपालिकाको प्रशासनिक भवन निर्माण सुरु भएको छ भने ढोरपाटन नगरपालिका र काठेखोला गाउँपालिकाले भने जग्गाको टुङ्गो लगाउन सकेका छैनन् ।

बडिगाड गाउँपालिका–५ ग्वालिचौरस्थित खार बजारमा स्थानीयवासीले निःशुल्क पालिकाको नाममा ११ रोपनी जग्गा प्रदान गरेपछि दुई वर्षअघि देखि प्रशासनिक भवन निर्माण थालिएको थियो ।

भवन निर्माण सम्पन्न भएर हस्तान्तरणको तयारीमा रहेको गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनुभयो ।

भवनको तारबार र पर्खालबाहेक सबै काम सकिएको र माघ महिनामै हस्तान्तरण गरी सेवा प्रवाह गर्ने तयारीमा रहेको अध्यक्ष थापाले बताउनुभयो । “भवन सम्पन्न भइसकेको छ, भवनमा आवश्यक फर्निचरको सामग्रीका लागि गाउँपालिकाले छुट्टै टेन्डर प्रक्रियामार्फत खरिद गर्नेछ, भवन फागुन महिना भित्रै हस्तान्तरण भएर हामीले नयाँ भवनबाट सेवा दिन पाउनेछौँ”, थापाले भन्नुभयो ।

उहाँका अनुसार कोरोनाका कारण सम्झौताभन्दा केही ढिला गरी निर्माण सम्पन्न भएको हो । गाउँपालिकाले अहिले भाडाको घरबाट सेवा दिइरहेको छ ।

भवनमा लिफ्ट, अपाङ्गमैत्री, भूकम्प प्रतिरोधीलगायतका विशेषता छन् । तीनतले भवनबाट पालिकाले प्रदान गर्ने सेवा तथा आवश्यक शाखा सञ्चालनका लागि सहज हुने गाउँपालिकाले जनाएको छ ।

अठार महिनामा निर्माण सम्पन्न गर्ने गरी रू पाँच करोड २२ लाखमा २०७७ साल जेठ १६ गते माउन्टेन कवीन्द्र जेभीसँग निर्माण सम्झौता भएको थियो ।

कोरोनाका कारण सम्झौताभन्दा एक वर्षपछि निर्माण सम्पन्न भएको निर्माण कम्पनीका प्रतिनिधि उपेन्द्र अर्यालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया