बेनी बजार र बगरफाँट जोड्ने बेलिब्रिज निर्माण सुरु

  फागुन २०, २०७९

म्याग्दी सदरमुकाम बेनी बजार र पर्वतको जलजला गाउँपालिका–२ र ३ समेटिएको बगरफाँटलाई जोड्ने गरी कालीगण्डकी नदीमा बेलिब्रिज निर्माण सुरु गरिएको छ ।

बेनीदेखि बगरफाँट जोड्ने सडक कालीगण्डकी नदी कटानले बगाएपछि विगत दुई वर्षदेखि बगरफाँटवासी सडक सुविधाबाट वञ्चित बनेका थिए । बगरफाँटवासीको समस्यालाई दृष्टिगत गर्दै जलजला गाउँपालिका र बेनी नगरपालिकाको समन्वयमा बेनीको कालीपुलदेखि बगरफाँट जोड्ने गरी बेलिब्रिज निर्माण सुरु गरिएको जलजला वडा नं २ का वडाध्यक्ष प्रकाश जिसीले जानकारी दिनुभयो ।

बेलिब्रिज निर्माणका लागि बेनी–जोमसोम–कोरला सडक आयोजनाले हिमालयन बिल्डर्स बेनीसँग पाँच महिनाभित्र योजना सम्पन्न गर्ने गरी रु एक करोड ६० लाखमा ठेक्का सम्झौता गरेको छ । बेनी–जोमसोम सडकअन्तर्गत पोखरे बगरस्थित कालीगण्डकी नदीमाथि पक्की नयाँ पुल बनेपछि प्रयोगविहीन बनेको बेलिब्रिजलाई स्थानान्तरण गरेर कालीपुलमा जडान गर्ने गरी सम्झौता भएको आयोजना प्रमुख जगत प्रजापतिले जानकारी दिनुभयो ।

पुल बन्ने स्थलको नापजाँचपश्चात् निर्माण कम्पनी कार्य क्षेत्रमा परिचालन भएको छ । ५४ मिटर लामो बेलिब्रिजका लागि निर्माण कम्पनीले बेनीबजारतर्फ कालीगण्डकी नदी किनारमा जग खन्ने काम अघि बढाएको निर्माण कम्पनीका सञ्चालक निरज भण्डारीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया