मोरङ,फागुन १९ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तारणीप्रसाद कोइराला स्मृति सञ्चारग्राम प्रदेशको ऐतिहासिक धरोहर रहेको बताउनुभएको छ ।
उहाँसँग रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले गर्नुभएको छलफलमा मुख्यमन्त्री कार्कीले भन्नुभयो, “प्रदेश सरकारले रेडियो सञ्चालन गर्ने नितिगत व्यवस्था कानुनमा नभए पनि रेडियो नेपाल जस्तो इतिहास बोकेको संथालाई सहयोग गर्छौँ ।”
मुख्यमन्त्री कार्कीले ताराणीप्रसाद कोइराला स्मृति सञ्चारग्राम रेडियो नेपाललाई थप प्रभावकारी बनाउन प्रदेश सरकार तत्पर रहेको बताउनुभयो ।
प्रदेश सरकारले नितिगत व्यवस्था गरेर यहाँबाट कार्यक्रम सञ्चालनका लागि सञ्चारग्राम र रेडियो नेपाललाई आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता उहाँको थियो ।
सो अवसरमा रेडियो नेपालका कार्यकारी निर्देशक केसीले तारणीप्रसाद कोइराला स्मृति सञ्चारग्राम पुर्णरुपमा सञ्चालनमा आउन लागेकाले प्रदेश सरकारलाई सहयोगका लागि आग्रह गर्नुभयो ।
रेडियो नेपालका निर्देशक पुष्करराज गौतम र रेडियो नेपाल धरान प्रसरण केन्द्रका प्रमुख वौयेलाल चौधरीले प्रदेश सरकारका विकासका गतिविधिलाई प्रमुख प्राथमिकतामा राखी प्रशारण गर्दै आएको बताउनुभयो ।
कोशी प्रदेश सरकारले रेडियो नेपाल धनकुटा प्रादेशिक प्रसारण केन्द्रबाट प्रदेश डायरी कार्यक्रम सञ्चालनका लागि आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ ।






