जर्मनी र संयुक्त राष्ट्रसङ्घद्वारा इरानमा विषाक्त पदार्थको छानबिन गर्न माग

  फागुन १९, २०७९

बर्लिन, फागुन १९ : इरानमा सयौं छात्रालाई विषाक्त पदार्थ दिइएको (खुवाइएको) घटनाको पूर्ण र पारदर्शी छानबिन गर्न जर्मनीका उच्च कूटनीतिज्ञले शुक्रबार गरेको आह्वानलाई संयुक्त राष्ट्रसङ्घले समर्थन गरेको छ ।

इरानी सरकारी अधिकारीका अनुसार विगत तीन महिनामा सयौँको सङ्ख्यामा छात्रामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको छ र यो इस्लामिक गणतन्त्रमा छात्रा विद्यालय बन्द गर्न बाध्य पार्ने प्रयास हुन सक्छ ।

इरानकी विदेशमन्त्री एनालेना बेयरबोकले ट्वीटरमा लेख्नुभएको छ, “इरानमा विद्यालयस्तरका छात्राहरूलाई विष खुवाइएको खबरले स्तब्ध बनाएको छ ।

उत्तरपश्चिमी शहर अर्दाबिलमा सात र राजधानी तेहरानमा तीन गरी कम्तीमा १० वटा बालिका विद्यालयलाई निशाना बनाइएको छ ।

“तेहरान होस् वा अर्दाबिल, केटीहरू निर्धक्क भएर विद्यालय जान पाउनुपर्छ । यो उनीहरूको मानव अधिकार हो,” बेयरबोकले भन्नुभयो ।

“सबै घटनाको पूर्ण अनुसन्धान हुनुपर्छ,” उहाँले भन्नुभयो ।

जेनेभामा शुक्रबार संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार कार्यालयले पनि विषाक्तताको आरोपप्रति चिन्ता व्यक्त गरेको छ ।

संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार कार्यालयका प्रवक्ता रविना शमदासानीले भन्नुभयो, “रहस्यमय परिस्थितिमा केटीहरूलाई जानीजानी निशाना बनाइएको भन्ने आरोपप्रति हामी निकै चिन्तित छौं ।”

उहाँले भन्नुभयो, “संयुक्त राष्ट्रसङ्घको अधिकार कार्यालयले घटनाको कुनै पनि अनुसन्धान पारदर्शी होस् र दोषीलाई न्यायको कठघरामा ल्याउन निष्कर्ष सार्वजनिक गरियोस् भन्ने चाहेको छ ।”

यसैबीच विश्व स्वास्थ्य सङ्गठनकी प्रवक्ता मार्गरेट ह्यारिसले संयुक्त राष्ट्रसङ्घीय स्वास्थ्य निकायले राष्ट्रिय स्वास्थ्य अधिकारीहरू र चिकित्सा पेशेवरहरूसँग घटनाका बारेमा सम्पर्कमा रहेको र ‘घटनाको बारेमा थप बुझ्नका लागि अन्य माध्यमहरू प्रयोग गरिरहेको छ ताकि हामीसँग राम्रो प्रमाण होस् ।’

गत नोभेम्बरमा रहस्यमय विषाक्तताको प्रकोप सुरु भएयता करिब एक हजार २०० विद्यार्थीलाई श्वासप्रश्वासमा समस्या भएपछि अस्पतालमा उपचार गर्नुपर्ने अवस्था आएको एक इरानी सांसदले बुधबार बताउनुभएको छ ।

विषाक्तताले देशभरि आक्रोशको लहरलाई उक्साएको छ । आलोचकहरूले विद्यालयहरूमा आक्रमणको बढ्दो सङ्ख्या देखिएको सन्दर्भमा आधिकारिक मौनताको निन्दा गरेका छन् ।

गत वर्ष सेप्टेम्बरमा २२ वर्षीया महसा अमिनीको मृत्युपछि सुरु भएको विरोध प्रदर्शनपछि जर्मनी र इरानबीचको सम्बन्ध विशेष गरी तनावपूर्ण बनेको छ ।

तेहरानले प्रदर्शनमाथि गरेको रक्तपातपूर्ण दमन र सरकार विरोधी प्रदर्शनकारीलाई मृत्युदण्ड दिने कार्यको निन्दा गर्ने पश्चिमा आवाजमा बेयरबोक स्वयम् अग्रपङ्क्तिमा रहनुभएको छ ।

यसैबीच, जर्मन–इरानी नागरिक जमशिद शर्माहदलाई मृत्युदण्डको सजाय सुनाइएपछि बर्लिनले पनि बदलामा यस्तै कदम चालेको छ । तेहरानले बिहीबार दुई जना जर्मन कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएको थियो ।

तपाईको प्रतिक्रिया