जलवायु परिवर्तनको असर

  फागुन १८, २०७९

कञ्चनपुरमा यस वर्ष कात्तिक महिनामै हुस्सु लाग्यो । आँपमा पुस महिनामै फुल फुल्यो । आँपको फूलमा अघिल्ला वर्षका तुलनामा रोगकिराको समस्या अत्यधिक देखियो । यी सबै कार्य जलावायुमा परिवर्तनका कारण भएका जनाइएको छ । जिल्ला वन समन्वय समिति कञ्चनपुरका सहसचिव पुनाराम चौधरी प्राकृतिक सम्पदाको अत्यधिक दोहन, वन विनास, खेती प्रणालीमा गरिएको परिवर्तन, दु्रत सहरीकरणसँगै प्रदूषणको कारणले जलवायु परिवर्नन आएको बताउनुहुन्छ ।

“जलवायु परिवर्तनले बाली चक्रको पात्रोमै परिवर्तन गरिदिँदा हुस्सु मङ्सिर महिनाको अन्तिम र माघ महिनामा लाग्दथ्यो”, उहाँले भन्नुभयो, “कात्तिक महिनामै हुस्सु लाग्न थालेको छ, आँपमा फागुन, चैत महिनामा फूल लाग्ने गरेकोमा पुस महिनामै फूल लाग्न थालेको छ ।”

ढिलो गरी अत्यधिक वर्षा हुनु, हिउँदमा समयअघि नै चिसो बढनु, वन जङ्गल क्षेत्रमा मिचाहा प्रजातिका विरुवा प्रशस्त रुपमा देखिनु, पशुमा नयाँ रोग देखा पर्नु जलवायु परिवर्तनको असर भएको उहाँले बताउनुभयो । “वर्षा र सुख्खा यामको दुरी बढदै गयरहेको छ”, उहाँले भन्नुभयो, “जसले गर्दा विगतको तुनलामँ तापक्रम बढ्दो छ ।

उहाँका अनुसार खेतवारीमा पहिला झारपातको धेरै समस्या हुने गरेको थिएन । हाल झारपातसँगै नयाँ रोग देखिन थालेका छन्, जति विषादीको प्रयोग गरे पनि रोग कीरा नियन्त्रण गर्न गाह्रो भएको छ । धानमा बाला नलाग्ने समस्या बल्झिँदै गएको छ । तापक्रम बढ्दै जाँदा बालीनालीको उत्पादन प्रभावित भएको उहाँको भनाइ छ । यस कार्यले खाद्यान्न सङ्कटलाई निम्त्याउन सक्ने उहाँले उल्लेख गर्नु भयो ।

“वर्षा हुने क्रममा आएको परिवर्तन चुनौतीका रुपमा रहेको छ”, महाकाली सामुदायिक वनका अध्यक्ष वीरबहादुर राजवंशीले भन्नुभयो, “वर्षातका दिन घट्दै जान थालेका छन, औषत वर्षा कम हुने गरेको छ, एकैपटक धेरै वर्षा हुँदा बाढी, भुक्षय र डुबानको समस्या केही वर्षदेखि जटिल रुपमा देखिन थालेको छ ।” अप्रत्यासित रुपमा हुने वर्षाले वर्षेनी धनजनको क्षतिलाई बढाउँदै लगेको उहाँले बताउनुभयो । वन क्षेत्रमा पहिला देखिने गरेका रैथाने प्रजातिका केही विरुवा अहिले देखा नपर्ने गरेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार वन क्षेत्रमा पहिला प्रशस्त रुपमा पाइने सानुन, विजयसाल लोपोन्मुख अबस्थामा पुगेको छ । हर्रो, वर्रोदेखि नै छाडेको छ । वन क्षेत्रमा प्रशस्त रुपमा देखिने जनावर देखिन छाडेका छन् । वन्यजन्तुको वासस्थानमा फेदरवदल भएको छ । डिभिवन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थी तराईमा तापक्रममा वृद्धि हुँदै जादा जीवजन्तुले वासस्थान सार्न थालेको बताउनुहुन्छ ।

“उष्ण हावापानीमा पाइने जनावर अहिले चुरे क्षेत्र र महाभारत क्षेत्रमा पाइन थालेका छन्”, उहाँले भन्नुभयो, “पाटे बाघ महाभारत क्षेत्रमा देखिनु यसको उदाहरण हो ।” तराईमा पाइने विरुवा अहिले चुरे क्षेत्रमाथि देखिन थालेको उहाँले बताउनुभयो । जलवायुको असर कम गर्न वन क्षेत्र जोगाउने, प्रदूषण कम हुने किसिमका उद्योग धन्दालाई प्रोत्साहित गर्ने, वातावरणमैत्री ऊर्जा र सवारी साधनको प्रयोगमा जोड दिने, वनमा लाग्ने डढेलो कम गर्नका लागि प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने उहाँले बताउनुभयो ।

जिल्ला वन समन्वय समिति कञ्चनपुरका सहसचिव चौधरी पराल जलाउने कार्य रोक्ने, नदीजन्य पदार्थको व्यवस्थित रुपमा प्रयोग गर्ने, वैकल्पिक ऊर्जाको प्रयोगमा जोड दिने, दाउराको खपत कम गर्ने, प्लास्टिकजन्य पदार्थको प्रयोगलाई निरुत्साहित गर्न सके वातावरणलाई सन्तुलित राख्न सकिने बताउनुहुन्छ ।

तपाईको प्रतिक्रिया