नेपालगञ्जमा सार्वजनिक शौचालयको समस्या

  फागुन १८, २०७९

पश्चिम नेपालको प्रमुख ब्यापारिक केन्द्रको रुपमा नेपालगञ्जमा सार्वजनिक शौचालयको समस्या खड्किएको छ । यहाँ स्वास्थ्य, शिक्षा र उद्योग व्यापारका लागि सेवा लिनेको दैनिक अत्यधिक भिड हुन्छ । तर शौच गर्न भने असुविधा छ ।

छिमेकी मुलुक भारतसँग सीमा जोडिएको बाँकेमा दुई देशका नागरिकको आवतजावत अत्यधिक हुने गर्दछ । तर भीडभाड हुने बजारका विभिन्न चोक तथा सार्वजनिक स्थानमा सार्वजनिक शौचालय नहुँदा सबैले सास्ती खेप्दै आएका छन् । हाल भएका सार्वजनिक शौचालय प्रयोगविहीन अवस्थामा छन ।

नेपालगञ्ज धम्बोझी चोक नजिकै कृषि विकास बैंकको छेउमा सार्वजनिक शौचालय देखेर बाँकेको डुडुवा गाउँपलिका–४ का भोला गुप्ताले रिक्सा रोक्नुभयो । तर शौचालय बन्द देखेपछि उहाँ फर्किनुभयो । अरु पनि यसैगरी आउने र फर्किने गरेका स्थानीय वासुदेव पन्तले बताउनुभयो ।

स्वचालित शौचालयमा आफँै सफा हुने प्रविधि जडान गरिएको छ । विजुली नभए पनि सोलारबाट चल्ने र प्रविधिमा समस्या आए व्यक्ति आफैले सफाइ गर्न सक्थे । महिला र पुरुष गरी आठ कोठाको शौचालय सञ्चालनको छ महिना नपुग्दै अस्तव्यस्त बनेको छ । सार्वजनिक शौचालय नहुँदा खाजा नास्ताको बहानामा होटेल रेष्टुराँ धाउनुपर्ने बाध्यता रहेको नेपालगञ्ज आउनुभएका दाङका कुमार डिसी बताउनुहुन्छ ।

धम्बोझी चोकमा करिब तीन वर्षअघि सञ्चालनमा आएको स्वचालित शौचालय केही समयमै प्रयोगविहीन भएको छ । “लामो समयदेखि शौचालय प्रयोगविहीन भएर थन्किएको छ”, नेपालगञ्ज उमहानगरपालिकाका वातावरण विभागका इन्जिनियर प्रकाश डिसीले भन्नुभयो, “शौचालयलाई कसरी सञ्चालनमा ल्याउने भन्ने विषयमा छलफल चलिरहेको छ ।”

स्वचालित शौचालयमा समय समयमा समस्या आउने गरेको छ । समस्या समाधानका लागि दक्ष प्राविधिकको अभाव छ । त्यसैले शौचालय बन्द भएको उपमहानगरपालिकाले जनाएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले एशियाली विकास बैंक ९एडीबी०को सहयोगमा रु ५९ लाखमा चार घुम्ती शौचालय २०७५ सालमा ल्याएको हो । नेपालगञ्जका मुख्य चोक तथा बजार साघुरिएकाले स्थान अभावका कारण घुम्ती शौचालयको व्यवस्थापन गर्न सकिएको छैन । उहाँले भन्नुभयो, “हामीले नगरका विभिन्न स्थानमा घुम्ती शौचालय राख्यो, त्यसपछि स्थानीयद्वारा नै विरोध भएपछि त्यसलाई अहिले थन्काएका छौँ, मुख्य समस्या अहिले स्थानको छ ।”

तपाईको प्रतिक्रिया