उत्तर–दक्षिण करिडोरका दुई दर्जन पुल सुरु हुनै बाँकी

  फागुन १६, २०७९

उत्तर–दक्षिण करिडोर अबको दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइए पनि यहाँका धेरै पुलको निर्माण सुरु हुनै बाँकी छ ।

कालीगण्डकी करिडोरमा १५, कोसी करिडोरमा चार र कर्णाली करिडोरमा पाँच पुल निर्माणमा जान बाँकी रहेको हो । कोसी करिडोरमा दुई पुल सम्पन्न भइसकेको र दुई निर्माणाधीन रहेको आयोजनाले जनाएको छ । बरुण नदीमा ७० मिटर लम्बाइको पुल निर्माणाधीन रहेको छ । त्योभन्दा माथि चार पुलको डिजाइन भइसकेको उत्तर–दक्षिण करिडोर आयोजनाका प्रमुख श्यामबहादुर खड्काले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अझै पनि चार पुल ठेक्कामा जान बाँकी रहेको छ ।”

कालीगण्डकी करिडोरमा हालसम्म पाँच पुल सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । जम्मा १२ पुल निर्माणाधीन भए पनि तीमध्ये धेरै सम्पन्न हुने चरणमा रहेको प्रमुख खड्काले जानकारी दिनुभयो । निर्माणाधीन पुल ६०÷७० मिटर लम्बाइसम्मका रहेको उहाँले बताउनुभयो । चालू आवमा दुई पुल निर्माणका लागि ठेक्का आह्वान गरिएको उहाँले जानकारी दिनुभयो । चौध पुल निर्माण गर्ने लक्ष्य रहेकामा पाँच सकियो भने अरूमा काम भइरहेको छ । उहाँले भन्नुभयो, “समग्रमा १५ पुल ठेक्का लगाउन बाँकी रहेको छ ।”

प्रगतिका हिसाबले सबैभन्दा पछि रहेको कर्णाली करिडोरमा जम्मा पुलसँगै विभिन्न कल्भर्ट पनि निर्माण गर्नुपर्नेछ । सानासाना खोल्सामा कल्भर्ट बनाउनुपर्ने रहेको आयोजना प्रमुख खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “कतै ठेक्का लगाएर निर्माणाधीन छन् भने थप कल्भर्टका लागि ठेक्का आह्वान गरिएको छ ।”

तपाईको प्रतिक्रिया