रेसुङ्गा, फागुन १३ : चेम्बर अफ कमर्स गुल्मीमा नयाँ नेतृत्व चयन भएको छ । आज जिल्लाको सदरमुकाम तम्घासमा चेम्बर अफ कमर्सको दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभा गरिएको थियो ।
चेम्बर अफ कमर्स गुल्मीको अध्यक्षमा दुर्गाप्रसाद पाण्डे सर्वसम्मत निर्वाचित हुनुभएको छ । त्यस्तै वरिष्ठ उपाध्यक्षमा वीरेन्द्र भुसाल, उपाध्यक्षमा रेमलाल पाण्डे, सीता विश्वकर्मा चयन हुनुभएको छ ।
महासचिवमा यज्ञप्रसाद पन्थी, सचिवमा सूर्य घिमिरे, प्रेम घिमिरे र हरिकिरण ठकुरी निर्वाचित हुनुभएको छ ।
त्यस्तै कोषाध्यक्षमा युवराज पाण्डे र सहकोषाध्यक्षमा कमल अर्याल चयन हुनुभएको निवर्तमान महासचिव कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
चेम्बर अफ कमर्स गुल्मीको अध्यक्षमा निर्वाचित पाण्डे यसअघि उद्योग वाणिज्य सङ्घ गुल्मीको अध्यक्ष पदमा रहेर काम गर्नुभएको थियो ।
अधिवेशनको उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य डिल्लीराज भुसालले व्यवसायी सङ्कटमा परेकाले आफूहरूले त्यसमा ध्यान दिने बताउनुभयो । “तपाईं (व्यवसायी) सङ्कटमा हुनुहुन्छ, हामीलाई थाहा छ”, उहाँले भन्नुभयो, “प्रदेशमा कुरा उठाउँछु अनि सङ्घमा पहल गर्छु ।” भुसालले व्यवसायीहरूलाई एकजुट भएर अगाडि बढ्न आग्रह गर्नुभयो ।
चेम्बर अफ कमर्स गुल्मीमा दुई सय ५१ व्यवसायी आबद्ध छन् ।






