ताप्लेजुङमा सोमबारदेखि बज्रगुरु मन्त्र जप हुने

  फागुन १३, २०७९

ताप्लेजुङ,फागुन १३ : सोमबारदेखि यहाँ तीनदिने बज्रगुरु मन्त्र जप कार्यक्रम सञ्चालन गरिने भएको छ । विश्व शान्ति तथा समस्त प्राणीहरूको हितका लागि चौथो बज्रगुरु मन्त्र जप कार्यक्रम आयोजना गरिएको हो ।

मानिसलाई आध्यात्मिक अभ्यासका माध्यमबाट आन्तरिक शक्तिसँग जोड्ने र सामाजिक सम्बन्धलाई थप बलियो बनाउनेसमेत उद्देश्यले बज्रगुरु मन्त्र जप कार्यक्रम सञ्चालन गर्न लागिएको आयोजक समितिले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

लगातार तीन दिनसम्म हुने उक्त कार्यक्रममा आर्य अवलोकितेश्वरको अभिषेकका साथै गुरु पद्मसम्भव, आर्य अवलोकितेश्वर र आर्य तारा मन्त्रको आगम प्रदान गरिने आयोजकले जनाएको छ ।

उक्त कार्यक्रममा लामा जोपा रिन्पोछे आउनुहुने भएको छ । उहाँ आइतबार दिउँसो हेलिकोप्टरमार्फत आउनुहुने र समापनको दिनसम्म रहने सञ्चालक समितिका अध्यक्ष खेन्पो थुप्तेन जिग्डोल लामाले जानकारी दिनुभयो ।

यस कार्यक्रममा छिमेकी जिल्ला पाँचथर, इलाम, झापा, तेह्रथुम, सङ्खुवासभासहितका गरी करिब ३० हजार भक्तजन उपस्थित हुने अनुमान गरिएको छ । ताप्लेजुङमा यसअघि समेत तीन बज्रगुरु मन्त्र जप आयोजना गरिसकिएको छ ।

तपाईको प्रतिक्रिया