छायाँनाथ रारा नगरपालिकाले ग¥यो अवैध संरचना भत्काउन सुरु

  फागुन १३, २०७९

मुगु,फागुन १३ : छायाँनाथ रारा नगरपालिकाले सदरमुकाम गमगढी बजारमा सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचना भत्काउन सुरु गरेको छ ।

पटक–पटक सूचना जारी गर्दै सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाउन आग्रह गरे पनि स्थानीयले अटेरी गरेपछि शुक्रबार नगरपालिकाले आफैँ अवैध संरचना भत्काउन थालेको हो ।

गत असोज १४ गते पहिलो ३५ दिने सूचना जारी गर्दै नगरपालिकाले गमगढी बजार साँघुरो भएको र सार्वजानिक जग्गा मिचेर बनाइएका संरचना घर, भ¥याङ, बार्दली, रेलिङलगायत हटाउन आग्रह गरेको थियो ।

त्यसपछि अर्को सूचना मङ्सिर ९ गते र त्यसपछि अर्को सूचना पुस २१ गतेलगत्तै सर्वदलीय बैठक बसेर रेखाङ्कन गरेर सार्वजनिक जग्गामा बनाइएका संरचनाको चिह्न लगाउने काम गरिएको थियो ।

साथै अवैध संरचना हटाउन पुनः फागुन ५ गते अन्तिम सूचना जारी गरेर अवैध संरचना हटाउन आग्रह गरे पनि स्थानीयले कुनै चासो नराखी अटेरी गरेपछि नगरपालिका बाध्य भएर आफै संरचना भत्काउन लागेको नगरप्रमुुख बिष्णुकुमार भामले बताउनुभयो ।

उहाँले यो कार्य कुनै स्वार्थका लागि नभई सुन्दर गमगढी बजार बनाउन भएको बताउनुभयो । सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाउन बारम्बार आग्रह गर्दा पनि सुनुवाइ नभएपछि स्थानीय प्रशासनको सहयोगमा नगरपालिकाले अवैध संरचना भत्काउने काम गरेको उहाँले बताउनुभयो ।

अहिलेलाई सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना घर, भ¥याङ, बार्दली, रेलिङलगायतका भत्काउने कार्य भएको छ । घरहरूका लागि पुनः सम्बन्धित घरमा १५ दिने सूचना टाँस गरिएको उहाँले जानकारी दिनुभयो । पन्ध्र दिनसम्म पनि सार्वजनिक जग्गामा भएका घर नहटाएमा नगरपालिकाले डोजर लगाएर भत्काउने नगरप्रमुख भामको भनाइ छ ।

गमगढी बजारमा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना नगरपालिकाले भत्काउन थालेपछि स्थानीय खुसी भएका छन् । साँघुरो बजारमा आवतजावत गर्न समस्या र आगलागीको जोखिमलगायत एम्बुलेन्स दमकल बजारमा ल्याउन समस्या हुने गरेको छ ।

बजारमा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना भत्काउन थालेपछि बजारको सडक फराकिलो भएको र अब सहज हुने स्थानीय दिपेशजङ्ग शाहीले बताउनुभयो ।

शुक्रबार अदालत चोक छत्त रावलको घरबाट अवैध संरचना भत्काउन गरिएको र पहिलो दिन कृष्ण चोकसम्म भत्काउने काम भएको छ । आइतबार तल्लो बजारमा रहेका अवैध संरचना भत्काउने नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया