मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुली खण्ड बिहानदेखि अवरुद्ध भएको छ । कमलामाई नगरपालिका–१३ रानीबासमा स्थानीयवासीले राजमार्ग अवरुद्ध पारेका हुन् ।
आज बिहान जङ्गली हात्तीको आक्रमणबाट घरमै सुतिरहनुभएका ४० वर्षीय दण्डपाणि पौडेलको मृत्युको विषयलाई लिएर पीडित पक्ष र स्थानीयवासीले राजमार्ग अवरुद्ध पारेका हुन् । राजमार्ग अवरुद्धका कारण सवारी आवागमन बन्द भएको छ । गन्तव्यतर्फ गुडेका सवारी साधनहरू रानीबासमा दुईतर्फ रोकिएका छन् ।
स्थानीयवासीले विभिन्न मागसहित राजमार्गमा बसेर सवारी आवागमन अवरुद्ध पारेको स्थानीय वृहस्पति पौडेलले जानकारी दिनुभयो । बिहान ९ बजेदेखि राजमार्ग बन्द गरिएको र जायज माग पूरा नहुन्जेलसम्म राजमार्ग अवरुद्ध रहने उहाँको भनाइ छ । स्थानीय बासिन्दाका मागलाई स्थानीय प्रशासनले लामो समयदेखि उचित सम्बोधन नगरेका कारण हात्तीको आक्रमणबाट मानिसको मृत्यु भएपछि सथानीय आक्रोशित भएका छन् । मानिसको अकालमै मृत्यु भएपछि स्थानीयवासीले आफ्नो सुरक्षाको माग गर्दै आन्दोलन गर्न बाध्य भएको उहाँको भनाइ रहेको छ ।
उहाँले भन्नुभयो, “जङ्गली हात्ती आतङ्कबाट मृत्यु भएका परिवारलाई उचित क्षतिपूर्ति, मृतकले संरक्षण गरेको संरक्षित परिवारलाई राज्यले संरक्षण गर्नुपर्ने, जङ्गली हात्तीका कारण सम्पत्ति क्षति भएका परिवारलाई क्षतिपूर्ति र जङ्गली हात्तीको व्यवस्थापन गर्नुपर्ने हाम्रा माग रहेका छन् ।”






