चराको स्वर्ग पुरैनी तालमा जलपक्षी घट्दै

  फागुन १३, २०७९

चराको स्वर्ग भनेर चिनिने कञ्चनपुरको बेलौरी नगरपालिका–६ भुराकोटमा रहेको पुरैनी तालमा जलपक्षीको सङ्ख्या घट्दै जान थालेको छ ।

हिउँदका बेला बसाइँ सारेर आउने जलपक्षीले भरिभराउ हुने तालमा यस वर्ष थोरैमात्रै जलपक्षी आएका छन् । ताल र त्यसको वरिपरिको क्षेत्र मानव अतिक्रमणको चपेटामा परेपछि तालमा चराका प्रजाति घट्दै गएका हुन् । पहिला ३२ बिघा क्षेत्रफल भएको ताल खुम्चिँदै गएर २८ बिघामा सीमित भएको छ ।

चरा तालमा लामबद्ध भएर पौडिँदै, डुबुल्की मार्दै गरेको र ताल वरिपरि उड्दै गरेको दृश्यले आन्तरिक पर्यटकलाई लोभ्याउँदै आएको छ । “चिसो मौसम सुरु हुनै लाग्दा पहिला पहाड छिचोल्दै ठूलाठूला हाँस प्रजातिका चरा तालमा आइपुग्थे”, स्थानिय बासिन्दा खड्कबहादुर चन्दले भन्नुभयो, “गर्मी सुरु हुन थालेपछि मात्रै फर्कन्थे, पहिलेको जस्तो जलपक्षी आउने क्रमम केही वर्ष कम हुँदै गएको छ ।”

“तालभरि कमल फुलेर मनमोहक हुन्थ्यो, त्यसमा चरा रमाउँदै गरेको दृश्यकले यहाँ पुग्ने जो कोही पनि मन्त्रमुग्ध हुन्थे, तालमा हुने कमल हरायो, चरा पनि हराउँदै गएका छन्”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार तालमा माछाका धेरै प्रजाति पाइने गरेका थिए । एउटै माछाको तौल पाँच किलोमाथि नै हुन्थ्यो । अहिले पनि तालमा एक किलोसम्मका माछा पाइने गरेका छन् । तालमा भएका माछा र चरालाई निकटवर्ती क्षेत्रका भारतीयले आएर मार्ने गरेको लक्ष्मण खत्रीले बताउनुभयो । “लुकिछिपी आएर चरा मार्छन्, विषादीको प्रयोग गर्छन्”, उहाँले भन्नुभयो, “माछा पनि मारेर लैजान्छन् ।”

ताल संरक्षणमा कुनै पनि निकायले चासो नदिँदा ताल खुम्चिँदै जान थालेकोप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो । तालमा ४८ प्रजातिका जलपक्षी पाइने गरेका छन् भने रैथाने जातका १० बढी प्रजाति पाइने गरेका छन् । मङ्सिर र पुस महिनामा चराको चाप ताल क्षेत्रमा अधिक हुन्छ भने, गर्मी बढ्दै जाँदा चराका प्रजाति पुरानै क्षेत्रमा फर्कंने भएकाले घट्छन् ।

तपाईको प्रतिक्रिया