सुरु भएको छ वर्षपछि मालिका गाउँपालिका–६ को दरबाङ खानेपानी तथा सरसफाइ आयोजना निर्माणले गति लिएको छ । विसं २०७४ फागुनदेखि सुरु भएको दरबाङ खानेपानी आयोजना निर्माणको कामले पछिल्लो समय गति लिएको हो । उपभोक्ता, उपभोक्ता समितिका पदाधिकारी, जनप्रतिनिधि र सम्बद्ध कार्यालयले चासो देखाएपछि केही महिनायता आयोजनाको अधुरा संरचना निर्माण धमाधम भएको जनाइएको छ ।
विसं २०७४ फागुनदेखि थालिएको दरबाङ खानेपानी आयोजनाको अहिलेसम्म ५० प्रतिशत काम सकिएको छ । प्रदेश सरकारको रु दुई करोड ९९ लाख ४० हजार नौ सय ३६ लागतमा उपभोक्ता समितिमार्फत कार्यान्वयन गरिएको आयोजनाको आर्थिक वर्ष २०७२÷७३ मा सर्वेक्षण गरिएको थियो ।
खानेपानी आयोजना निर्माणमा भएको ढिलासुस्तीले स्थानीय प्रभावित भएका छन् । तीव्ररूपमा बस्ती र बजार विस्तार भइरहेको दरबाङमा पिउने तथा सरसफाइका लागि पानीको समस्या छ । खानेपानी उपभोक्ता समितिका सचिव खिमबहादुर पुनले मुख्य लाइन निर्माण सकेर ट्याङ्कीसम्म पानी खसालिएको र शाखा लाइन निर्माणको काम थालिएको बताउनुभयो । दरबाङका बासिन्दाले आयोजनाको शाखा र मुख्य पाइप लाइन खन्ने काममा श्रमदान गरिरहेका छन् ।
तीव्ररूपमा बस्ती विकास भइरहेको दरबाङमा खानेपानी अभावको समस्या हट्ने अपेक्षासहित श्रमदानमा जुटेको स्थानीय गोपाल गौतमले बताउनुभयो । विसं २०७८ मा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना सङ्घीयता स्थापनासँगै खानेपानी कार्यालयको संरचना परिवर्तन, विश्वव्यापीरूपमा फैलिएको कोरोना महामारी, २०७७ मा आयोजना निर्माण क्षेत्रको जङ्गलमा आगलागी हुँदा र वर्षात्को समयमा दरबाङ–दिच्याम सडकबाट खसेको पहिराले पाइप बगाउँदा निर्माणमा ढिलाइ भएको उपभोक्ता समितिका अध्यक्ष ओमप्रकाश शेरचनले बताउनुभयो ।
उहाँका अनुसार उक्त आगलागीमा ९० एमएमको तीन सय मिटर, ६३ एमएमको एक हजार मिटर, ५० एमएमको नौ सय ५० मिटर पाइप जलेर नष्ट भएको थियो । चालू आवमा सम्पन्न गर्ने लक्ष्य राखेर आयोजना निर्माणलाई तीव्रता दिइएको उहाँले बताउनुभयो । “विविध कारण केही समय आयोजना निर्माणको काम रोकिएको हो”, उहाँले भन्नुभयो, “सञ्चालन भएको आयोजना निर्माणलाई यो आवभित्र सम्पन्न गर्नेगरी तीव्रता दिएका छौँ ।”
गाउँपालिकाको वडा नं ७ स्थित छिपछिपे, ढुनोट र वडा नं ६ गोजाखोला मुख्य मुहान तथा तेलचाप्रे, धाढखर्कमाथिको सहायक मुहानबाट पानी ल्याएर दरबाङ बजारमाथि निर्माण भएको १०० घनमिटर क्षमताको रिजर्भ ट्याङ्कीमा खसालिएको छ ।
उक्त खानेपानी आयोजनाबाट प्रतिदिन ९९ हजार तीन सय ८५ लिटर पानी आपूर्ति हुनेछ । आयोजनाबाट दुई सय ९६ घरधुरीका एक हजार पाँच सय ४१ जनसङ्ख्या लाभान्वित हुनेछन् । अहिलेसम्म सबै मुहानमा ट्याङ्की, सङ्कलन र रिजर्भ ट्याङ्की निर्माण भएका छन् ।






