माध्यमिकी परिक्रमा आज जलेश्वरमा

  फागुन १२, २०७९

मिथिलाको महाकुम्भ मानिएको माध्यमिकी परिक्रमालाई आज बिहान महोत्तरीको जलेश्वरमा स्वागत गरिएको छ । सोमबार धनुषाको कचुरीस्थित मिथिला विहारी कुटीबाट मिथिला विहारी र जनकपुरस्थित अग्नि कुण्डका किशोरीजीको डोलाका साथमा धार्मिक झाँकी भजनकीर्तनसहित सुरु भएको परिक्रमा आज चौथो दिन जलेश्वर आइपुगेको हो ।

परिक्रमाअन्तरर्गत पहिलो बास मंगलबार भारतको कलानेश्वरमा बुधबार भारतकै गीरिजास्थान ९फुल्हर०, तेश्रो दिनको विश्राम बिहीबार महोत्तरीको मटिहानीमा र आज शुक्रबार चौथो दिन सदरमुकाम जलेश्वर आईपुग्दा स्थानीयवासीले स्वागत गरेका छन् । बाजा, गाजासहित लाखौको संख्यामा रहेका साधु नागा र भक्तजनले नाचगानका साथ भगवान् राम र माता जानकीको डोला लिएर महोत्तरीको जलेश्वर प्रवेश गर्दा स्थानीयवासी तथा जिल्ला प्रशासनले पूजापाठ गरी स्वागत गरेका हुन् ।
स्थानीयवासीले ठाउँ ठाउँमा परिक्रमा यात्रीका लागि निःशुल्क भोजन, पानी, दाउरा, बिजुलीको व्यवस्था मिलाएका छन् ।परिक्रमाका सहभागीले पाँचौ दिनको विश्राम मडैमा, छेठौ दिन धु्रवकुण्डमा, सातौ दिनको बास कन्चनवनमा बसेर आठौ दिन पुनः धुनषाको पर्वतामा बस्नेछन् । त्यसपछि धनुषाधाम, औरही, करुणा, विशौल हुँदै पुनः भारतको कलानेश्वर र फागुन पुर्णिमाको दिन जनकपुर फर्कने छन् ।

नेपाल–भारत दुवै मुलुकको धार्मिक सांस्कृतिक एवं परम्परागत सद्भावको प्रतीकका रूपमा रहेको परिक्रमा यात्राको नेपालमा ११ तथा भारतमा चार गरी १५ विश्रामस्थल छन् । मिथिला महात्म्यमा यी विश्रामस्थलका पौराणिक एवं धार्मिक महत्वबारे छुट्टाछुट्टै प्रकाश पारिएकाले यी स्थलप्रति भक्तजनमा आस्था रहेको पाइन्छ ।

मिथिला महात्म्यअनुसार १८ औँ शताब्दीदेखि यो धार्मिक यात्रालाई माध्यमिकी परिक्रमाका रूपमा मनाइदै आइएको छ । यात्राका सहभागीले नेपालका एकसय सात र भारतको २६ गरी एकसय ३३ किलोमिटर पैदलयात्रा गर्छन् । परिक्रमामा भारतको आयोध्या, मथुरा, हरिद्धार, दरभङ्गा, सितामढी, बैजनाथधामका साधुहरु उल्लेख्य रुपमा सहभागी भएका छन् ।
फागुन शुक्ल प्रतिपदादेखि प्रारम्भ हुने यो धर्मयात्रा १५ दिनभित्र जनकपुर पुगी होली खेलेर फागुन पुर्णिमामा समापन गरिन्छ । यस यात्रामा सहभागी भए मन, वचन र कर्मले भएका पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने धार्मिक मान्यता छ ।

तपाईको प्रतिक्रिया