वासिङ्टन, वैशाख १९ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै खुफिया एजेन्सीको रिपोर्टलाई उल्ट्याउँदै कोरोना भाइरस चीनको प्रयोगशालामा तयार पारिएको आरोप लगाएका छन् ।
नेसनल इन्टेलिजेन्स ब्युरोका निर्देशकले केही दिनअघि कोरोना भाइरस मानिस जनावरबाट आएको वा कुनै ल्याबमा तयार पारिएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको बताएका थिए । उनले कोरोना भाइरस मानिसले जानीजानी नबनाएको भन्ने कुरामा भने आफू विश्वस्त रहेको बताएका थिए ।
चीनले पनि कोरोना भाइरस प्रयोगशालामा तयार पारिएको भन्ने तर्कलाई खारेज गर्दै आएको छ । गत वर्षको डिसेम्बरमा चीनको वुहानबाट कोरोना संक्रमण सुरु भएको थियो । अहिलेसम्म कोरोना भाइरस प्रयोगशालामा तयार पारिएको भन्ने ठोस प्रमाण छैन । विश्वका वैज्ञानिकहरुले पनि चमेरोबाट कुनै समुद्री जीव हुँदै मानिसमा कोरोना भाइरसको संक्रमण सरेको बताउँदै आएका छन् । विश्व स्वास्थ्य संगठनले पनि कोरोना भाइरसको उत्पत्तिबारे आधारहीन आरोप नलगाउन सबैलाई चेतावनी दिँदै आएको छ ।
तर बिहीबार अमेरिकी राष्ट्रपति भने आफ्नै खुफिया एजेन्सीभन्दा धेरै अघि बढ्दै आफूसँग कोरोना भाइरसको उत्पत्तिबारे प्रमाण भएको बताएका छन् । उनले आफूसँग भएका प्रमाणले कोरोना भाइरस ल्याबमै तयार पारिएको भन्नेतर्फ संकेत गरेको बताए । तर ‘ल्याबमै तयार पारिएको हो भनेर कसरी ढुक्कका साथ भन्न सक्नुहुन्छ ?’ भन्ने पत्रकारको प्रश्नमा भने उनी अनकनाए । उनले भने, ‘मैले तपाईंलाई भन्न मिल्दैन, तपाईंलाई जानकारी दिन मलाई अनुमति छैन ।’
ट्रम्पकै भनाइ खारेज हुने गरी एनआईबीले कोरोना भाइरसको प्राकृतिक उत्पत्तिबारे आफूहरु ‘व्यापक वैज्ञानिक आम सहमति’ को साथ रहेको बताएको छ ।
कोरोना भाइरसबाट शुक्रबार बिहानसम्म विश्वभर संक्रमित हुनेको संख्या ३२ लाख ५७ हजारभन्दा बढी पुगेको छ । त्यस्तै २ लाख ३३ हजारभन्दा बढीको मृत्यु भएको छ भने संक्रमितमध्ये करिब १० लाख निको भएका छन् । अमेरिकामा मात्रै १० लाख ६९ हजारभन्दा बढी व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएका छन । त्यस्तै अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या करिब ६३ हजार रहेको छ ।