राष्ट्रियसभाका अध्यक्ष र युएईको सङ्घीय राष्ट्रिय काउन्सिलका सभामुखबीच भेटवार्ता

  फागुन ०८, २०७९

काठमाडौँ, फागुन ८ : संयुक्त अरब इमिरेट्स (युएई)को भ्रमणमा रहनुभएका सङ्घीय संसद्, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र युएईको सङ्घीय राष्ट्रिय काउन्सिलका सभामुख सक्युर घोबासबीच अबुधाबीस्थित उक्त काउन्सिलमा आज शिष्टाचार भेटघाट भएको छ ।

भेटघाटमा अध्यक्ष तिमिल्सिना र युएईका सभामुख घोबासले दुई देशबीचको द्विपक्षीय सम्बन्धका विविध आयाममा छलफल गर्नुभएको अबुधाबीस्थित नेपाली राजदूतावासले जनाएको छ ।

राजदूतावासद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “बैठकमा उहाँहरूले नेपालीको एक प्रमुख रोजगार गन्तव्यका रूपमा युएई रहेकाले त्यसलाई थप व्यवस्थित गरी पारस्परिक हितमा हुने गरी सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।”

बैठकमा अध्यक्ष तिमिल्सिनाले युएईमा नेपालीले आर्जन गरेको सीपलाई नेपालमा पनि प्रयोग गरी देशको विकासमा योगदान पुर्याउने सम्भावना रहेको बताउनुभयो ।

उहाँले युएईमा काम गर्ने नेपालीको हकहित तथा सुरक्षा अभिवृद्धि गर्ने सम्बन्धमा पनि दुई देशबीच भइरहेको सहकार्यलाई थप सुदृढ गर्नुपर्ने बताउनुभएको थियो ।

भेटमा अध्यक्ष तिमिल्सिनाले दुई देशबीच रोजगारीका साथै लगानी, वैदेशिक सहयोग र जनस्तरको सम्बन्धलाई थप सुमधुर बनाउनु पर्नेमा जोड दिनुभयो ।

नेपाल सरकारले विदेशी लगानीलाई उच्च प्राथमिकता दिएको उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले युएईका ठूला लगानीकर्तालाई नेपालको पर्यटन, जलविद्युत्, चिकित्सा शिक्षा, पूर्वाधार र सेवालगायतका क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो ।

उक्त भेटघाटमा नेपालको तर्फबाट मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी, युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल तथा युएईका तर्फबाट उक्त काउन्सिलका उच्च अधिकारीसमेतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया