विश्वभर १० लाख बढी कोरोना संक्रमित निको भए

  बैशाख १९, २०७७

काठमाडौं, वैशाख १९ : कोरोना भाइरसबाट संक्रमित भएकामध्ये शुक्रबार बिहानसम्म करिब १० लाख जना निको भएका छन् । जोन होप्किन्स विश्वविद्यालयको कोरोना रिसोर्स सेन्टरको तथ्यांकअनुसार शुक्रबार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित हुनेमध्ये १० लाख १४ हजार ८ सय ९ जना निको भएका छन् ।

विश्वविद्यालयको तथ्यांकअनुसार शुक्रबार बिहानसम्म संक्रमित हुनेको संख्या ३२ लाख ५७ हजार ५ सय २० पुगेको छ । त्यस्तै २ लाख ३३ हजार ४ सय ५ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसबाट संक्रमित हुनेमध्ये १० लाख निको भइसकेकाले उपचाररतमध्ये पनि धेरै निको हुने चिकित्सकहरुले बताएका छन् । मेडिकल जर्नल द लान्सेटका अनुसार कोरोना भाइरसको मृत्युदर एन्फ्लुएन्जाको भन्दा ०.१ प्रतिशत तथा सार्सको भन्दा ९.५ प्रतिशत कम रहेको छ ।

अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेमध्ये सबैभन्दा बढी अमेरिकामा एक लाख ५३ हजार ९ सय ४७ जना निको भएका छन् । अमेरिकामा संक्रमितको संख्या १० लाख ६९ हजार ८ सय २६ पुगेको छ । त्यस्तै शुक्रबार बिहानसम्म अमेरिकामा ६३ हजार ६ जनाको मृत्यु भएको छ ।

त्यस्तै जर्मनीमा संक्रमण पुष्टि भएका एक लाख ६३ हजारमध्ये एक लाख २३ हजार ५ सय जना निको भएका छन् । जर्मनीमा शुक्रबार बिहानसम्म ६ हजार ६ सय २३ जनाको मृत्यु भएको छ ।

स्पेनमा संक्रमित दुई लाख १३ हजार ४ सय ३५ जनामध्ये करिब एक लाख १२ हजार निको भएका छन् । स्पेनमा शुक्रबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २४ हजार ५ सय ४३ पुगेको छ ।

इटालीमा दुई लाख ५ हजार ४ सय ६३ संक्रमितमध्ये ७५ हजार ९ सय ४५ जना निको भएका छन् । त्यस्तै इटालीमा २७ हजार ९ सय ६७ जनाको मृत्यु भएको छ ।

त्यस्तै कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनमा संक्रमण नियन्त्रणउन्मुख रहेको छ । चीनमा संक्रमितमध्ये धेरै जना निको भएका छन् । चीनमा कोरोना संक्रमण पुष्टि भएका ८३ हजार ९ सय ५६ जनामध्ये ७८ हजार ५ सय २३ जना निको भएका छन् । चीनमा ४ हजार ६ सय ३७ जनाको मृत्यु भएको छ । चीनमा अहिले करिब ८ सय कोरोना संक्रमित मात्रै उपचाररत रहेका छन् ।

दक्षिण कोरियामा पनि कोरोना संक्रमण नियन्त्रणउन्मुख रहेको छ । दक्षिण कोरियामा शुक्रबार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० हजार ७ सय ७४ पुगेको छ भने २ सय ४६ जनाको मृत्यु भएको छ । दक्षिण कोरियामा संक्रमण पुष्टि भएकामध्ये ९ हजार ७२ जना निको भएका छन् ।

त्‍यसैगरी न्युजिल्यान्डले पनि कोरोना भाइरस नियन्त्रण गरेको दाबी गरेको छ । न्युजिल्यान्डले समुदायमा हुने स्थानीय संक्रमण रोकेको जनाउँदै कोरोना भाइरसलाई निर्मूल पारेको दाबी गरेको हो । न्युजिल्यान्डमा अहिलेसम्म एक हजार ४ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसमध्ये १९ जनाको मृत्यु भएको छ भने एक हजार २ सय ५२ जना निको भएका छन् ।

तपाईको प्रतिक्रिया