हेटौँडा, फागुन ७ : श्रम, रोजगार तथा यातायातमन्त्री एकालाल श्रेष्ठले राष्ट्रिय समाचार समिति (रासस) सबल भए लोकतान्त्रिक समाज सबल बन्ने विश्वास व्यक्त गर्नुभएको छ ।
राससको बागमती कार्यालयले आयोजना गरेको ६२औँ वार्षिकोत्सव कार्यक्रममा उहाँले सही सूचना जनतासमक्ष संप्रेषण गर्ने सरकारी स्वामित्वको रासस सबल र सक्षम हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले सञ्चार क्षेत्रले दिने सूचना सत्य, तथ्य र निष्पक्ष हुनुपर्ने बताउँदै गलत सूचनाले समाजमा नकारात्मकता फैलाउने जनाउनुभयो । मन्त्री श्रेष्ठले प्रदेश सरकारले सञ्चार क्षेत्रको समग्र विकासमा सहयोग पुग्ने कार्यक्रम ल्याउने प्रतिबद्धता जनाउनुभयो ।
त्यसैगरी बागमती प्रदेश सांसद प्रेमबहादुर पुलामीले राससको स्थापना सरकारको काम कारबाहीको सूचना जनता र जनताको प्रतिक्रिया सरकारसमक्ष पु¥याएर सुशासन कायम गर्न र विकासका लागि सहयो पु¥याउन भएको बताउनुभयो । राससको सुव्यवस्थापनमा प्रदेश सरकारले पनि सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
प्रदेश सांसद भारती पाठकले श्रमजीवी पत्रकारको हितमा सञ्चार नीति र साना तथा स्वरोजगार लगानीका सञ्चारमाध्यम जोगाउने विज्ञापन नीति ल्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले तल्लो वर्ग र कुना कन्दराका जनताको पक्षमा कलम चलाउन आग्रह गर्नुभयो ।
रासस बागमती प्रदेशप्रमुख सुरेश झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार महासङ्घका केन्द्रीय सदस्य सुनिल खड्का, मकवानपुरका कार्यवाहक अध्यक्ष धु्रव अधिकारी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, पत्रकारलगायत विभिन्न सरकारी कार्यालयका प्रमुख र सूचना अधिकारीहरुको आतिथ्यता रहेको थियो ।






