कर्णाली प्रदेश सरकारले रैथाने बालीको संरक्षण तथा प्रवद्र्धनमा उच्च प्राथमिकता दिएको छ । सरकारले शनिबार यस वर्ष ‘कर्णाली प्रदेश दोस्रो रैथानेबाली संरक्षण तथा प्रवद्र्धन दिवस, २०७९’, मनाएको छ । प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कर्णाली सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले विसं २०७४ फागुन ६ गते कर्णालीलाई अग्र्यानिक प्रदेश बनाउने निर्णय गरेबमोजिम त्यससँग सम्बन्धित विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।
कृषि मन्त्रालयले प्राङ्गारिक उत्पादनमा वृद्धि गर्न यहाँका रैथानीबाली फापर, कोदो, चिनो, कागुनो, मार्सी धान, सिमी, जौँ, उवाँ, लट्टेलगायतको संरक्षण, प्रवद्र्धनका साथै प्रचार–प्रसारमा पनि जोड दिएको छ । यसअनुरुप विसं २०७८ फागुन ६ गतेदेखि कर्णाली प्रदेश रैथानेबाली संरक्षण तथा प्रवद्र्धन दिवस मनाउन सुरु गरिएको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले जानकारी दिनुभयो ।
“कर्णाली आयातित वस्तुमा निर्भर छ भन्ने कुरा भ्रम हो”, उहाँले भन्नुभयो, “यो प्रदेश जहाँ गोठेमल प्रयोग गरी रैथानीबाली उत्पादन गरिन्छ । विषादी र मल प्रयोग छैन । त्यो हरित क्षेत्र हो । कम मात्रमा मलखाद तथा विषादी प्रयोग भएको पहेँलो क्षेत्र हो । जहाँ पूर्णतः विषादी र रासायनिक मल गरिएको छ त्यो खतरा अर्थात् रातो क्षेत्र हो ।”
जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गङ्गाराम सुनारले पछिल्लो समयमा कोदो कहाँ फल्छ भनेर थाहा पाउन हाम्रा बालबालिकालाई गाह्रो अवस्था आएको बताउनुभयो । रैथानेबालीमा भिटामिन, प्रोटिन, क्यालोरी कति पाइन्छ भन्ने थाहा पाउन र यसको महत्व र वास्तविकता बुझाउन पाठ्यक्रम तयार हुनुपर्ने प्रमुख सुनारले सुझाव दिनुभयो ।
वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेतका अध्यक्ष दिनेश खत्रीले कर्णाली प्राङ्गारिक सम्भावना बोकेको एकमात्र प्रदेश भएको दाबी गर्नुभयो । अध्यक्ष खत्रीले भन्नुभयो, “अहिले जुम्लाको अग्र्यानिक उत्पादन किन्न जुम्ला जानुपर्दैन । सुर्खेतमै आउँछ । तसर्थ रैथानीबालीको महत्व, उत्पादन र संरक्षणबारे बुझाउन जरुरी छ ।”






