ताप्लेजुङको पाथीभरा क्षेत्रमा गुराँस फुल्न सुरु भएको छ । पहाडी जिल्लाको बँेसी क्षेत्रहरुमा माघको दोस्रो सातादेखि नै गुराँस फुल्न थालेको हो । समुद्र सतहदेखि तीन हजार मिटर उचाइमा अवस्थित सुकेटार विमानस्थल वरपर गुराँस फुलेको भेट्न सकिन्छ । पहाडी क्षेत्रमा गुराँस फुल्न सुरु भएसँगै वनजङ्गल राताम्य हुने गर्दछ । स्थानीय व्यवसायी गुराँस फुलेसँगै पर्यटन व्यवसाय फस्टाउने आशमा हुन्छन् । त्यस्तै आशमा छन्, पाथीभरादेवी नजिकै होटल सञ्चालन गरेका युवराज खड्का । गुराँसको सिजनमा उहाँले मनग्य आम्दानी गर्दै आएका छन् । गुराँस ढकमक्क फुल्न थालेपछि व्यापार धेरै हुने गरेको उहाँले बताउनुभयो ।
“पर्यटक यहाँ गुराँससँग रमाउन गाडी नै ल्याएर आउँछन् । हामीलाई उहाँहरूको सेवा गर्न भ्याइनभ्याइ हुन्छ”, उहाँ भन्नुहुन्छ । यहाँ नयाँ वर्षको दिन पर्यटकको धेरै घुइँचो लाग्छ । उहाँले भन्नुभयो, “गुराँसको महिमाले यहाँ पर्यटकको सङ्ख्या बढेपछि होटल सुरु ग¥यौँ । डाँडाभरि फुल्ने गुराँस हेरिरहुँ लाग्छ, यी निकै मनमोहक देखिन्छन् ।” पर्यटकीय क्षेत्रमा गुराँसमा झुम्मिनेहरू धेरै भेटिन्छन् । हिमाली र पहाडी भेगमा ढकमक्क गुराँस फुलेको हुन्छ । माघदेखि जेठसम्म गुराँस फुल्छ । गुराँसलाई बिम्ब बनाएर धेरै गीत, गजल र कविता लेखिएका छन् । सामाजिक सञ्जालमा गुराँस छेउ उभिएको, हत्केलामा गुराँस राखिएको, कानमा सिउरिएका तस्बिरहरू देखा पर्न थालेको छ । गुराँस बगैँचामा रमाउने र पदायात्रा गर्नेहरू धेरै भेटिन्छन् । तस्बिरमा देखेकाहरू प्रत्यक्ष रूपमा गुराँस देख्दा धेरै रमाउँछन् । गुराँसका पात, बोक्रा र फूल मानिस तथा घरपालुवा जनावरका लागि औषधिका रूपमा प्रयोग गरिन्छ ।
अचार, सर्वत र रक्सी बनाउन पनि यो झनै उपयोगी हुन्छ । फागुनको दोस्रो सातादेखि पाथीभरा मन्दिर जाने पदमार्गको दायाँबायाँ विभिन्न प्रकारका लालीगँरासका फूलले सजिने गर्दछ । निकै लामो समय गाडीभित्र गुम्सिएर उकुसमुकुस यात्रापछि गाडीबाट ओर्लिने बित्तिकै मनमोहक राष्ट्रिय फूल लालीगुराँस फूलको स्वागतले तीर्थयात्रीमा एक प्रकारको ऊर्जा प्राप्त हुने गर्दछ ।






