सिकारीका पर्खाइमा ढोरपाटन सिकार आरक्ष

  फागुन ०५, २०७९

ढोरपाटन सिकार आरक्षमा वर्षको दोस्रो सिकारयाम सुरुआत भएको छ । आगामी सिकार याम ९२०७९ फागुन–२०८० वैशाख०का लागि ढोरपाटनमा सिकार गर्न इच्छुकबाट प्रस्ताव आह्वान भएसँगै सिकार आरक्ष सिकारी पर्यटकको पर्खाइमा छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बिहीबार प्रतिस्पर्धाबाट सिकार गराउन दरभाउ पत्र आह्वान गरेको हो । पन्ध्र दिनभित्र पेस हुने प्रस्तावबाट बढीबढाउका आधारमा सिकार कम्पनीले नाउर, झारल र वनेलको सिकार अनुमति पाउने छन् ।

विभागका अनुसार आरक्षमा तोकिएको ब्लक र निर्धारण गरिएको कोटाका आधारमा प्रतिस्पर्धाबाट नाउर, झारल र वनेलको सिकार गरिने भएको छ । यसका लागि व्यक्ति तथा सङ्घ संस्थाले निवेदन दिनसक्ने विभागले जनाएको छ ।

आरक्षमा यस आव २०७९÷८० को दोस्रो यामका लागि १२ नाउर आठ झारलको सिकार कोटा तोकिएको छ । यस सिजनमा नेपाली नागरिकका लागि ७ वनेल र विदेशी नागरिकका लागि चार वनेल गरी जम्मा ११ वटा वनेल सिकार कोटा तोकिएको आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले बताउनुभयो ।

ढोरपाटन नेपालको एक मात्र सिकार आरक्ष हो । यहाँ कात्तिक–मङ्सिर र फागुन–वैशाख गरी दुई सिजनमा सिकारको अनुमति दिइन्छ । आरक्षले सिकारको अनुमति दिएको सङ्ख्या, पर्यटक र उनीहरुको गतिविधिलाई नियमनको काम गर्छ । नेपालमा दुई सिजनामा गरी सामान्यतया दुई दर्जन नाउर र एक दर्जन झारलको सिकार हुने गरेको छ ।

आरक्षमा कूल छ वटा ब्लक रहेका छन् । ब्लकअनुसार मूल्य फरकफरक पर्छ । पर्यटकले सिकार गरेको जनावरको सिङ, छाला, खप्परजस्ता अङ्ग भने आफ्नो मुलुक लैजान पाउँछन् । विभागले यस वर्षको पहिलो सिकार यामका लागि आठ नाउर र पाँच वटा झारलको सिकार अनुमति दिएको थियो । तीमध्ये पाँच नाउर र चार झारलको मात्रै सिकार भएको थियो । अघिल्लो सिकार याममा सिकार हुन नसकेका नाउर र झारल समेतलाई थप गरेर वर्षको दोस्रो याममा सिकार अनुमति दिन लागिएको हो ।

तपाईको प्रतिक्रिया