बैतडीमा तीन वर्षमा १३० शिशुको मृत्यु

  फागुन ०५, २०७९

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा तीन वर्षमा एक सय ३० नवजात शिशुको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष २०७६÷७७ देखि आव २०७८÷७९ सम्म ती शिशुको मृत्यु भएको हो ।

यहाँ हरेक वर्ष नवजात शिशु मृत्युदर बढ्दै गएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो । आव २०७६÷७७ मा ३१, आव २०७७÷७८ मा ४८ नवजात शिशुको मृत्यु भएको थियो । गत आवमा ५१ नवजात शिशुको मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

गत आवमा सबैभन्दा बढी पुर्चौंडी नगरपालिकामा १३ नवजात शिशुको मृत्यु भएको थियो । यस्तै मेलौली नगरपालिकामा ११, सिगास गाउँपालिकामा छ, दशरथचन्द र पाटन नगरपालिकामा पाँच÷पाँच, डिलाशैनी र शिवनाथ गाउँपालिकामा चार÷चार तथा सुर्नया गाउँपालिकामा दुई नवजात शिशुको मृत्यु भएको छ ।

स्वास्थ्य संस्थामा दक्ष प्रसूतिकर्मी नहुनु, सुत्केरी हुन स्वास्थ्य संस्था नजानुलगायत कारणले नवजात शिशुको मृत्यु हुने गरेको छ । समय अगावै जन्मिनु, नवजात शिशुमा सङ्क्रमण हुनु र निस्सासिएर पनि शिशुको मृत्यु हुने गरेको स्वास्थ्य प्रमुख भट्टको भनाइ छ ।

तपाईको प्रतिक्रिया