बगरको कर तिर्दै बगरफाँटवासी

  फागुन ०४, २०७९

म्याग्दीको बेनीनगरपालिका–२ बगरफाँटका स्थानीयले २२ वर्षदेखि म्याग्दी नदी बगरको कर जिल्ला मालपोत कार्यालयलाई तिर्दै आएका छन् ।

विसं २०५७ देखि निरन्तर म्याग्दी नदीमा आएको बाढीले कटान गरेर बगाएको ३६ रोपनी जग्गाको स्थानीयवासीले अझैसम्म पनि कर तिर्दै आएका छन् । म्याग्दी नदीको कटानका कारण बगरफाँटको ३६ रोपनी जग्गा बगरमा परिणत भएको हो । बगरफाँटस्थित ढलेबगरको विराउटा भन्ने ठाउँमा अहिले म्याग्दी नदी बगिरहेको छ ।

नदी बगेको ठाउँभन्दा पारपिट्टी बेनी नगरपालिका–६ को डम्मरासम्म फैलिएको विरौटाको अहिले नामोनिसान नभए पनि जग्गाधनी पूर्जा कामयमै रहेकाले हुँदै नभएको जग्गा र आफूले उपभोग गर्नै नमिल्ने ठाउँकोसमेत कर तिर्न बाध्य हुनुपरेको बेनी नगरपालिका–२ का ओमबहादुर थापाले बताउनुभयो ।

थापाका अनुसार स्थानीय हीराबहादुर घिमिरे, भक्तबहादुर घिमिरे, ओमबहादुर थापा, कृष्णबहादुर थापालगागत आठ जना व्यक्तिले मालपोत कर तिर्दै आएका छन् । पहिला जग्गा ९खेत,बारी र घर० भएको ठाउँमा अहिले म्याग्दी नदी बगेको र आफ्नो जग्गा भएको ठाउँ बेनी नगरपालिका–६ डम्मरामा नदीको बगरमा परिणत भएको थापाले बताउनुभयो ।

“हाम्रो जग्गा अहिले डम्मरामा पर्छ, नदीको बगरमा परिणत भएको छ”, थापाले भन्नुभयो, “जग्गाधनी प्रमाणपूर्जामा हाम्रो नाममा छ, बर्सेनि मालपोत कर तिर्दै आएका छौंँ, तर हाम्रै जग्गाको नदीजन्य पदार्थ हामीले प्रयोग गर्न पाउँदैनौंँ, हामीमाथि अन्याय भएको छ ।”

विसं २०५७ मा म्याग्दी नदीमा आएको भीषण बाढीले जो जग्गा बगाएको थियो । त्यसयताका २१ वर्षसम्म जग्गाधनीले नियमितरुपमा मालपोत कर तिर्दै आएका जिल्ला मालपोत कार्यालय म्याग्दीले जनाएको छ । जिल्ला मालपोत कार्यालय म्याग्दीका प्रमुख कृष्णबहादुर कार्कीले जग्गा नभए पनि जग्गाधनी प्रमाणपत्रमा जग्गा कायमै रहेको देखिएकाले जग्गाधनीले कर तिर्दै आएका बताउनुभयो ।

स्थानीयवासीले सो जग्गालाई सार्वजनिक जग्गामा दर्तागरी मालपोत कर कट्टा गर्न आग्रह गरेका छन् ।

पूरै गाउँ जोखिममा

बगरफाँट गाउँ पहिरो र नदी कटानको जोखिममा पर्दै गएको छ । २०५७ सालदेखि म्याग्दी नदीले कटान गर्न सुरू गरेको बगरफाँटमा रहेका दुई सय घरधुरी वर्षाको समयमा गाउँको शिरानबाट खस्ने पहिरो र गाउँको पुछारमा म्याग्दी नदीको कटानबाट बर्सोनि त्रसित हुने गरेका छन् । म्याग्दी नदीको कटान नियन्त्रणका लागि नदी किनारमा ग्याबिन जाली भर्ने गरिएको भए पनि वर्षामा ढुङ्गा र लेदोसहित उर्लिएर आउने बाढी नियन्त्रण हुन नसकेको स्थानीयवासीले बताएका छन् ।

“गाउँ जोखिममा छ, शिरानबाट खस्ने पहिरो र पुछारमा बग्ने नदीका कारण वर्षामा कहिल्यै ढुक्कसँग सुत्न सकिँदैन, कतिबेला के हुन्छ भन्ने त्रास रहिरहन्छ,” नदी कटानबाट गाउँलाई जोगाउन बर्सेनि तटबन्धको पहल गर्दै आउनुभएका स्थानीय समाजसेवी नारायण कार्कीले बताउनुभयो ।

म्याग्दी नदीको कटानका कारण बगरफाँटको एकसय ५० रोपनीभन्दा बढी खेतीयोग्य जमिन क्षय भइसकेको र नदी कटानको समस्या अझै बढ्दै गएको स्थानीय वुद्धिजीवी तथा म्याग्दी नदी कटान नियन्त्रण योजना उपभोक्ता समितिका अध्यक्षसमेत रहनुभएका कार्कीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया