छवर्षे पदावधि पूरा गरी निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौड्याल आजदेखि अवकाश हुनुभएको छ । आयोगमा आज आयोजित कार्यक्रमबीच आयुक्त पौड्यालको बिदाइ गरियो । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, अन्य आयुक्तहरू, सचिव र कर्मचारीको उपस्थितिमा आयोजित कार्यक्रममा आयुक्त पौड्याललाई माला र दोसल्लाबाट सम्मान गरिएको थियो ।
सो अवसरमा प्रमुख आयुक्त थपलियाले संविधान र कानुनको पालना गर्दै मुलुक र जनताको हितमा निष्ठापूर्वक सेवा गर्ने अग्रजका रूपमा आफूले आयुक्त पौड्याललाई पाएको उल्लेख गर्नुभयो । उहाँले आयोगको छविलाई उच्च राख्न पौड्यालले खेल्नुभएको भूमिकाको प्रशंसा गर्नुभयो । प्रमुख आयुक्त थपलियाले नयाँ संविधानपछिको पहिलो निर्वाचन ९विसं २०७४० देखि नै निर्वाचन सञ्चालन र व्यवस्थापनमा पौड्यालले दिनुभएको योगदान आयोग र आमजनताका लागि सम्पत्ति हुने बताउँदै पौड्यालको आगामी जीवनको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।
आयुक्त पौड्यालले निष्ठा, सदाचारिता र व्यावसायिकतालाई मूल मन्त्र मानेर आफूले सार्वजनिक सेवामा काम गरेको र जिम्मेवारी पूरा हुँदा आफू खुसी हुने उल्लेख गर्दै नयाँ संविधानपछि कानुनी र व्यवस्थापकीय अनुभवको अभावबीच २०७४ सालको निर्वाचन सफल बनाइएको स्मरण गर्नुभयो । उहाँले कानुनको इमान्दारपूर्ण पालनाबाट संवैधानिक आयोगको गरिमा बढ्ने विश्वास व्यक्त गर्नुभयो ।






