पूर्व–पश्चिम राजमार्गको विकल्पका रुपमा निर्माण गरिएको हुलाकी राजमार्गमा पर्ने आठ पुलमध्ये हालसम्म तीनको मात्र निर्माण काम सम्पन्न भएको छ । बाँकी निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
राष्ट्रिय गौरवको योजनाका रुपमा रहेको राजमार्गको झापा खण्ड ४८ किलोमिटर छ भने यहाँ ठूलासाना नदीमा पुल निर्माणाधीन छन् । तीमध्ये कमल, किस्ने र मेचीपुलको निर्माणको काम सम्पन्न भइसकेको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका इञ्जिनीयर प्रमोद खतिवडाले जानकारी दिनुभयो ।
उहाँँले झापा खण्डमा पर्ने हुलाकी सडकको निर्माण सम्पन्न भए पनि पुलको निर्माण समयमै हुन नसक्दा सडक सञ्चालनमा आउन नसकेको बताउनुभयो । उहाँले बन्दै गरेका अधिकांश पुलको ६० देखि ९६ प्रतिशत भौतिक प्रगति भइसकेको जानकारी दिनुभयो ।
उहाँका अनुसार विसं २०६८ देखि २०७६ सम्ममा ठेक्का लागेका सबै पुलको निर्माणको काम आगामी २०८० साल असार मसान्तभित्र सम्पन्न गर्ने गरी काम भइरहेको छ । हुलाकी सडकमा पर्ने विरिङ पुल विसं २०६८ मा लामा मैनाचुली जेभीले ठेक्का लिएर काम सुरु गरेको थियो ।
ठेकेदारको लापरवाही, कोराना महामारी र मुलुकमा राजनीतिक अस्थिरताका कारण सो पुल निर्माणमा ढिलाइ भएको थियो । पटकपटक म्याद थप गरी हाल सो पुलको भौतिक प्रगति ८० प्रतिशत भइसकेको उहाँको भनाइ छ । उहाँले तीव्ररुपमा निर्माण भइरहेको विरिङ पुलको तीन महिनाभित्रमा निर्माण सकिने बनाउनुभयो ।






