मकै छर्न खेतबारी खनजोत गर्ने समय सुरुसँगै पोखरा–२२ लुकुमस्वारा निवासी कृष्ण पौडेललाई यतिबेला बारीमा छरेको मकै बाँदरबाट कसरी जोगाउने भन्ने चिन्ता छ । मकै मात्र होइन बारीमा लगाएको तरकारी र फलफूलसमेत बाँदरले राख्दैन, रातदिन बाँदर धपाउँदैमा समय खर्चनुपर्छ, यहाँका किसानलाई ।
पोखरा–१३ आर्वाका किसान हरिकृष्ण सिग्देलेको चिन्ता पनि बाँदरबाट कसरी तरकारी तथा अन्नबाली जोगाउने भन्ने नै छ । खर्च गरेर मकै र तरकारी रोप्यो बाँरदको आहारा बन्छ, परिवारले के खाने सिग्देलले दुःख व्यक्त गर्नुभयो । बारीको मकै र तरकारी जोगाउन छिमेकी मिलेर बाँदर धपाउन आलोपालो गर्ने गरेका छौँ तर पनि मानिस नभएको मौका छोपेर बाँदरले तरकारी तथा मकैबारीमा पसेर खाइदिने गरेको किसान सिग्देल बताउँनुहुन्छ । कास्कीका अधिकाशं गाउँका किसान बाँदर आतङ्कबाट पीडित छन् । पछिल्ला वर्ष त बाँदरले झ्यालबाट पसेर भरभित्रको अन्नसमेत लिएर भाग्ने गरेको सिग्देलले सुनाउनुभयो ।
पोखरा–२२ का वडाध्यक्ष हिमलाल बरालले भन्नुभयो, “किसानले लगाएको बाली बाँदरबाट जोखाउन अनेकौँ उपाय ग¥यौँ, तर नियन्त्रण गर्न सकिएन ।” उहाँका अनुसार बादरबाट तरकारी तथा मकैबाली जोगाउन सक्यौँ भने पनि वडाका अधिकांश किसानले राहत मात्र होइन, अन्नबाली किन्न समेत थोरै पथ्र्यो । गण्डकी प्रदेश सरकारसँग बाँदरको सङ्ख्या वा तिनीहरूले अन्न तथा तरकारी बारीमा गरेको क्षति विवरणको तथ्याङ्क भने छैन ।
गण्डकी प्रदेश सरकारका कृषि ऊर्जा तथा जलस्रोतमन्त्री बेदबहादुर गुरुङले आफू बाँदर नियन्त्रण गर्ने उपायको खोजीमा रहेको बताउनुभयो । कास्की तथा यस प्रदेशमा रहेका जिल्लाको अधिकाशं गाउँका किसानको गुनासो नै बाँदरबाट पीडित हुनुपरेको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनमा बाँदर मार्ने अधिकार छैन । बाँदरलाई जसरी हुन्छ किसानको अन्नबाली खान नदिन र किसानबाट टाढा राख्नु मुख्य चुनौती भएको छ । किसानको बारीमा बाँदर नआउने अचुक उपाय कसैसँग भए लाखौँ रुपैयाँको पुरस्कार दिनेसमेत मन्त्री गुरुङले घोषणा गर्नुभयो ।






