मीरगञ्ज पुल सञ्चालन

  फागुन ०३, २०७९

भारतको बथनहास्थित मीरगञ्ज पुलबाट मालबाहक सवारी आवतजावत गर्न भारतीय पक्षले अनुमति दिएपछि नेपाली पक्षका व्यापारी खुसी भएका छन् ।

लामो समयदेखि उक्त पुलमा नेपाली व्यापारी एवं उद्योगीलाई आवतजावत गर्न प्रतिबन्ध लगाएपछि सुनसरीको भण्टाबारीबाट माल आयात गर्ने गरेका थिए । चार लेन सडकसहित मीरगञ्जको परमान नदीमाथि पक्की मोटरेबल पुल बनेपछि भारतीय पक्षले एक वर्षपछि आधिकारिक रुपमा शुक्रबार सूचना जारी गर्दै पुलबाट आवतजावत गर्न सकिने अनुमति दिएको छ ।

मोरङ व्यापार सङ्घको पहलमा दुवै देशका नेता तथा अधिकारीलाई पुल सञ्चालन गर्न दिइएको दबाबका कारण अनौपचारिक रुपमा पुल सञ्चालनमा आएको हो । यो अनुमतिले भारतलगायत तेस्रो मुलुकबाट आउने कच्चापदार्थ लगायतको सामग्री बोकेका मालबाहकलाई सुनसरीको भण्टाबारी नाकाबाट आउनुपर्ने बाध्यता हटेको छ ।

उक्त पुल सञ्चालनपछि एक सय १६ किलोमिटरको दूरी अब अब चार किलोमिटरमा झरेको छ । भारतको पटनास्थित कमिस्नर अफ कष्टम पटनाका अधिकारी प्रदीप कुमारले सूचना जारी गरी नयाँ मीरगञ्ज पुल सञ्चालनमा आएको र त्यसबाट मालबाहक आवतजावत गर्ने अनुमति दिइएको जनाएको छ । यसअघि भारतका जोगवनीस्थित ल्याण्ड कष्टम र आइसिपीबीच समन्वय हुन नसक्दा आंशिक रुपमा मात्रै मालसामानको कार्गो आयात निर्यात भइरहेको थियो ।

विभागले अब तेस्रो मुलुकबाट आउने, जाने सामानका लागि भण्टाबारी नाका पुग्नु नपर्ने जनाउँदै मातहतका सबै निकायलाई बोधार्थ दिँदै सूचनालाई तत्काल कार्यान्वयन गराउन निर्देशन दिएको छ । सूचनासँगै विराटनगरको आइसिपीबाटै आयात र निर्यात औपचारिक रुपमा सुरु भएको छ ।

व्यापार सङ्घका अध्यक्ष नवीन रिजालको अगुवाइमा पटक–पटक नेपाल र भारतीय अधिकारीलाई पुल सञ्चालनका लागि अनुरोध गरेपछि अनौपचारिक रुपमा दुई महिनादेखि पुल सञ्चालनमा आएको थियो । पुल सञ्चालनमा आए पनि भारत र नेपालका लागि मात्र कार्गे आउने जाने गर्दथे । तेस्रो मुलुकबाट आउने सामानको हकमा सुनसरीको भण्टाबारी नाका प्रयोग हुँदै आएको थियो ।

तपाईको प्रतिक्रिया