ग्वार्कोमा सवारी चाप कम गर्न कोटेश्वरबाटै ट्राफिक डाइभर्ट गरिने

  फागुन ०२, २०७९

ललितपुरको ग्वार्कोमा ‘फ्लाई ओभर’ निर्माणका कारण देखिएको सवारीसाधन चापको समस्या समाधान गर्न ट्राफिक प्रहरीले सवारीसाधन अन्यत्र मोड्न लगाउने ९ट्राफिक डाइभर्ट० योजना बनाएको छ ।

कोटेश्वरदेखि एकान्तकुनासम्म चल्ने सवारीसाधन चक्रपथभन्दा भित्र वा बाहिरी सडकबाट चल्दा जाममा कम हुने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको भनाइ छ । केही दिनयता सवारीसाधन दुई घण्टासम्म पनि रोकिने अवस्था आएपछि ट्राफिक डाइभर्ट गर्नुपर्ने अवस्था आएको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताउनुभयो ।

सडक विभागले चार लेन सडकको बीचमा निर्माण सुरु गरेसँगै सवारी साधन सञ्चालनमा अवरोध सिर्जना भएको छ । हाल बालकुमारी पुलदेखि ग्वार्को चोकसम्म सडक छेउका दुई–दुई लेनमा मात्रै यातायात सञ्चालन भइरहेको प्रवक्ता भट्टले जानकारी दिनुभयो । अहिले सर्भिस लेन र सर्भिस ट्र्याकबाट मात्रै सवारीसाधन चलिरहेका छन् । ‘फ्लाई ओभर’को निर्माण सकिन एक डेढ वर्ष लाग्ने र तबसम्म उक्त रुटमा चल्ने सवारीसाधनले विकल्प खोज्नुपर्ने उहाँको भनाइ छ ।

उहाँका अनुसार कोटेश्वरदेखि ललितपुरतर्फ जाने सवारीसाधन बालकुमारी पुलको बाटो नभइ जडीबुटीदेखि टिकाथली वा इमाडोल हुँदै सातदोबाटो पुग्न सक्ने उहाँको भनाइ छ । “लुभू, इमाडोल जानेहरु यही सडकको प्रयोग गर्न सक्छन्”, उहाँले भन्नुभयो, “यसो गर्दा सडकमा ट्राफिक जाम कम पनि हुन्छ ।”

निर्माण सुरु भएपछि सोही सडकमा सबै गाडी गुडाउँदा समस्या हुने भएपछि सवारीसाधन व्यवस्थापनका लागि डाइभर्ट गर्नुपर्ने सडक विभागका प्रवक्ता भीमार्जुन अधिकारीको भनाइ छ ।

तपाईको प्रतिक्रिया