अनुशासित र जिम्मेवार भएर लेखा व्यवसाय गर्न नवप्रवेशीलाई सुझाव

  फागुन ०१, २०७९

काठमाडौँ,फागुन १ : जिम्मेवार, अनुशासित र पारदर्शी भएर लेखा व्यवसायमा लाग्न नवप्रवेशी चार्टर्ड एकाउन्टेन्टहरूलाई महालेखापरीक्षक टङ्कमणि शर्मा दङ्गालले सुझाव दिनुभएको छ ।

आज काठमाडौँमा आयोजित नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को पाँचौँ दीक्षान्त समारोहमा उहाँले नेपालको आर्थिक सुशासनमा लेखा व्यवसायीहरुको महत्वपूर्ण भूमिका रहने बताउनुहुँदै जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताउनुभयो ।

पाँचौँ दीक्षान्त समारोहबाट दीक्षित भएका चार्टर्ड एकाउन्टेन्टहरूलाई कुनै पनि प्रकारका खराब आचरणबाट टाढा रहन पनि उहाँले सुझाव दिनुभयो ।

“तपाइँहरू ग्राजुएट भएर आउनुभएको छ, यो शक्ति हो । तपाइँहरूको मसी र हस्ताक्षर चल्ने हो । त्यसलाई सही ढङ्गले प्रयोग गर्नुहोला । आफूले प्राप्त गरेको शक्ति र आफ्नो कान्ति क्षय गर्न नदिनुहोला”, महालेखापरीक्षक दङ्गालले भन्नुभयो । दुर्वचन, दुव्र्यवहार, दुव्र्यसनी र दुराचारबाट टाढा रहन सके कसैको पनि दुर्गति नहुने धारणा उहाँले राख्नुभयो ।

नेपालको चार्टर्ड एकाउन्टेन्सी पेसामा निकै कम मात्र जनशक्ति रहेको उल्लेख गर्नुहुँदै महालेखा परीक्षक दङ्गालले मुलुकको अर्थतन्त्रको अवस्था खराब हुँदा लेखा व्यवसायीहरूको भूमिका पनि बढ्ने बताउनुभयो ।

“सानो अर्थतन्त्रमा पनि ठूलो समस्या देखिएपछि तपाइँहरूको जिम्मेवारी बढ्छ । सही तथ्यमा आधारित रहेर लेखा व्यवसाय गर्नुभयो भने अर्थतन्त्रमा आएका समस्याको कारण पहिचान गर्न र समाधानका लागि पनि ठूलो भूमिका खेल्छ”, उहाँले भन्नुभयो ।

दीक्षान्त समारोहमा आइक्यानका अध्यक्ष भास्कर सिंह लालाले नेपालको आर्थिक विकासमा लेखा व्यवसायको महत्व, भूमिका र योगदानको चर्चा गर्नुहुँदै यो व्यवसाय जिम्मेवार हुन पनि उत्तिकै आवस्यक रहेको बताउनुभयो । “नेपालको आर्थिक विकास गर्नका लागि लेखा व्यवसाय र लेखा व्यवसायीको आर्थिक एवम् सामाजिक उत्तरदायित्व महत्वपूर्ण भूमिका रहन्छ”, उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया