बुटवलमा पशु बधशाला सञ्चालनको तयारी

  फागुन ०१, २०७९

बुटवल उपमहानगरपालिका–१० रामनगरमा दुई बिघा तीन कठ्ठा क्षेत्रफलमा बधशाला निर्माण भएको पशु बधशाला सञ्चालनमा आउने भएको छ । बधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिबीचमा सहमति भएको उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो ।

बधशाला सञ्चालनको जिम्मेवारी सार्वजनिक, निजी, सहकारी ९उत्पादक० साझेदारी अवधारणा अनुसार बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिलाई दिइनेछ । यसका लागि उत्पादक किसान र मासु व्यवसायीले गठन गरेको बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिलाई हस्तान्तरण गरिने उहाँको भनाइ छ ।

बधशाला निर्माण र सञ्चालनमा बाख्रापालक किसानदेखि व्यवसायीसम्म साझेदार छन् । कानुनी हिसाबलेसमेत सहज हुने गरी बधशाला सञ्चालन हुने र यसबाट बुटवलबासीले स्वस्थ र स्वच्छ मासु उपभोग गर्न पाउने नगर प्रमुख पाण्डेयको विश्वास छ ।

बधशाला विस्तृत सम्झौता भएलगत्तै सञ्चालन हुने गरी सहमति भएको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताउनुभयो । बधशाला सञ्चालन तथा व्यवस्थापनका लागि कार्यदल गठन भएको र कार्यदलले नियमित रुपमा अनुगमन र व्यवस्थापनसमेत गर्ने निर्णय भएको उहाँले सुनाउनुभयो ।

तपाईको प्रतिक्रिया