त्रिहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवसलाई भव्यरुपमा मनाउन प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षमा प्रदेशस्तरीय मूल समारोह समिति आज गठन गरिएको छ ।
समितिमा प्रदेशका सबै मन्त्रालय, सभामुख, प्रदेशसभाका सदस्य, कार्यालय, सार्वजनिक संस्थान, विभिन्न सङ्घसंस्था, शैक्षिक संस्था एवं औद्योगिक प्रतिष्ठान, नेपाल पत्रकार महासङ्घ लगायतका प्रतिनिधि वा प्रमुख सदस्य रहनेछन् ।
यही फागुन ६, ७ र ८ गते भव्यरुपमा मनाउन यो दिवसमा पहिलो दिनदेखि नै सबै सरकारी कार्यालयमा सरसफाइ वृक्षरोपण, राष्ट्रिय झण्डा फहराउने, प्रजातन्त्र केन्द्रित रचनात्मक एवं सिर्जनात्मक कार्य, प्रजातन्त्रका विषयमा सन्देशमूलक लेख, रचना प्रकाशन एवं प्रसारण, अस्पताल एवं ज्येष्ठ नागरिक गृह, कारागार, बालसुधार गृहमा फलफूल र औषधि वितरण कार्यक्रम गर्ने तय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव उमेश बस्नेतले जानकारी दिनुभयो ।
फागुन ७ गते जिल्ला प्रशासन कार्यालय र विराटनगर महानगरपालिकाको संयोजनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आगाडिबाट प्रभातफेरी गरी पुनःसोही स्थानमा पुगी सहिदप्रति श्रद्धाञ्जलीपछि मुख्यमन्त्री कार्कीको सम्बोधन हुने बताइएको छ ।






