बालविवाह कसुरमा कैद

  माघ २८, २०७९

पन्ध्र वर्षीया बालिकासँग बालविवाह तथा बहुविवाह गरेको कसुरमा एक अभियुक्तलाई शुक्रबार एक वर्ष तीन महिना कैद सजाय गरिएको छ ।

कञ्चनरुप नगरपालिका–११ गोरपारका ३६ वर्षीय चन्द्रनारायण धामीलाई कैद सजाय भएको अदालतका इजलाश अधिकृत कुमार सुवेदीले बताउनुभयो । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले आरोपितलाई बहुविवाहको कसुरमा एक वर्ष र बालविवाहको कसुरमा तीन महिना कैद सजाय गरेको हो ।

यसैगरी आरोपितलाई बहुविवाहमा रु १० हजार र बालविवाहमा रु तीन हजार जरिवाना समेत भएको छ । यसका साथै आरोपितबाट फौजदारी कसूर पीडित राहत कोषमा रु चार सय जमा गर्नुपर्ने फैसला भएको छ । जेठी श्रीमती २१ वर्षीया मेनुकाकुमारी चौधरीले आरोपित श्रीमान्ले १५ वर्षीया बालिकालाई गत मङ्सिर १ गते विवाह गरी घरमा भित्र्याएको भन्दै इलाका प्रहरी कार्यालय कञ्चनरुपमा उजुरी दिनुभएको थियो । प्रहरीले पुस २५ गते आरोपितलाई पक्राउ गरी उजुरी दर्ता गरेको थियो ।

जिल्ला अदालतले यही माघ १७ गते बालिकालाई सफाइ र धामीलाई पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको थियो । बहुविवाहसँग जोडिएको यो बालविवाहको घटनाबाहेक आर्थिक वर्ष २०७९÷८० मा जिल्ला अदालतमा अन्य दुई बालविवाहका उजुरी दर्ता भएका छन् । बालविवाहको एउटा उजुरी परमादेशबाट दर्ता भएको छ भने अर्को सशस्त्र प्रहरीले भारत जाँदै गरेको नवविवािहत जोडीलाई नियन्त्रणमा लिएपछि प्रहरी प्रतिवेदनमा चलेको बालविवाहको मुद्दा रहेको छ ।

महादेवा गाउँपालिका–१ की बालिकालाई विवाह गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा बालिका र अन्य तीन जना भारतीय नागरिक यही माघ १७ गते पक्राउ परेका थिए । पक्राउपर्नेमा भारतको जम्मु काश्मिर घर भएका मो रफिक खार, नुर जहान र गुलाब जिलानी रहेको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया